खेमराज न्यौपाने
मानवको जीवन अब सन्तुलित तर व्यस्त थियो। ऊ आफ्नै सपना र लक्ष्यहरू पछ्याउँदै शहर दरशहर दौडिरहेको थियो, व्यावसायिक सफलताको पाइला टेक्दै। घर थियो, परिवार थियो, जिम्मेवारी थियो—तर मनको एक कुनामा अझै पनि केही अधुरो बाँकी थियो। त्यो अधुरोपनको नाम थियो—प्रकृति।
प्रकृति—सिर्फ एक नाम मात्र होइन, बाल्यकालको एउटा संक्षिप्त तर अमिट छायाँ। उनीहरू बाल्यकालका साथी थिए। सम्बन्ध प्रेममा रूपान्तरित भएको थिएन, तर त्यो सम्बन्धमा मिठास थियो, सरलता थियो, र सबभन्दा गहिरो कुरा—एक मौन आत्मीयताको प्रेम थियो।
वर्षौं बिते। मानव ठूलो भयो, ठाउँ फेरियो, मान्छे फेरिए, अनुहार फेरिए—तर त्यो प्रकृति नाम कहिल्यै हराएन। एकदिन, व्यवसायिक कारणले मानव घोराहीको सिटी प्लाजा होटलमा आयोजना गरिएको कार्यक्रममा सहभागी भयो। कार्यक्रम चलिरहेको थियो, अतिथिहरूको नाम एक–एक गरी उच्चारण भइरहेथ्यो। अचानक एउटा परिचित नाम आयो—प्रकृति।
मानव एकाएक झस्कियो। उभिएर मञ्चतिर हे-र्यो—त्यहाँ एक युवती उभिरहेकी थिइन्, शालीन र आत्मविश्वासी। अनुहार स्पष्ट देख्न सकेन, तर चाल, आवाज र त्यो नाम—तीनै कुरा उसको मनमा एउटा कौतुहल जगाइरहेका थिए। उभिएकी ती युवती शायद उही बाल्यकालकी प्रकृति हुन् भन्ने चाहना झसङ्ग उठ्यो। त्यो चाहना यथार्थ थियो कि केवल सम्झनाले रचेको भ्रम, उसलाई थाहा थिएन।
कार्यक्रमबीच खाजाको समय भयो। सबैका लागि चिकन मम अर्डर गरिएको थियो, तर ती युवतीका लागि भेज पकौडा मगाइयो—उनी भेजिटेरियन थिइन्। त्यो छुट्टैपन, त्यो विशिष्टता—फेरि मानवको मनमा झस्को लगाइदियो।
कार्यक्रम सकियो। सबै बाहिर निस्किए। मानवको मनमा एउटा अपूर्व उत्सुकता थियो—अनुहार हेर्न पाए हुन्थ्यो, कुरा गर्न पाए हुन्थ्यो। ऊ हतारिएर हलबाहिर गयो। अनि—देख्यो उनलाई। त्यो अनुहार हेरेर उसको मन केही क्षण चुपचाप भयो। मिल्दोजुल्दो, तर पक्कै उही हैनन् भन्ने झल्को आयो।
तैपनि, संयोगको नाममा सामान्य कुराकानी भयो। फेसबुकको कुरा उठ्यो। प्रकृतिले आफ्नो फेसबुकको नाम सुनाइन्। मानवले सोध्यो, “तपाईंको घर कता हो?” जवाफ आयो—”पश्चिम हापुरे।” त्यसपछि उनीहरू छुट्टिए।
त्यो रात, मोबाइल स्क्रिनमाथि आँखा गाडेर बसेको मानवको मुटु बारम्बार धड्किरहेको थियो—कहिले रिक्वेस्ट एसेप्ट होला भनेर। केही समयपछि सूचना आयो—”प्रकृतिले तपाईंको रिक्वेस्ट एसेप्ट गर्नुभयो।” उसले तुरुन्त प्रोफाइल खोलेर हे-र्यो। फोटोहरू, अनुहार—सोध्न चाहेजस्तो थिएन, तर मनले मान्दै थियो—”यही हो, यही नामसँग बाँधिएको मेरो भाव।”
त्यसपछि उसले एउटा सानो “Hello” लेख्यो। केहीबेरमा जवाफ आयो—”Hi”त्यो छोटो जवाफले उसमा एउटा सिङ्गो कथा भित्र्यायो। संवादहरू सुरु भए। सामान्य कुराकानी हुँदै गइरहेको थियो—उनी कहाँ पढिन्, के गर्दै थिइन्। अनि एकदिन, मानवले सोध्यो—”तपाईंको बाल्यकाल कहाँ बित्यो?” जवाफ आयो—”थोरै समय तुलसीपुरमा बितेको थियो, पछि हापुरे आए।”
मानवको मन एकाएक खिन्न बन्यो। बाल्यकालको सम्झनासँग त्यो स्थान मिलेन। उसले बुझ्यो—शायद उनी बाल्यकालकी ती प्रकृति होइनन्। तर प्रश्न उब्जिरह्यो—”नाम मात्र भएर पनि यस्तो गहिरो आकर्षण किन?”
मन भन्न सक्दैन—अनुभूति कहाँबाट सुरु हुन्छ, कहाँ पुगेर टुंगिन्छ। तर त्यो नाम—”प्रकृति”—एक सन्देशजस्तै लागिरहेको थियो। एक सन्देश, जुन विगतको सुगन्ध बोकेर वर्तमानमा आएर बस्ने गर्छ।
भोलिपल्ट बिहान ऊ झ्याल खोलेर निस्कने बिहानको चिसो हावा सुँघ्दै उभिएको थियो। उसले गिलासको बाफमा फेरि देख्थ्यो—प्रकृति। उसको मन भन्दैथ्यो—”तिमी नाम होइनौ, अनुभूतिको आकार हौ। म भित्र गडेको एउटा मिठो समयको सुगन्ध हौ। अनुहार त बदलिन्छ, तर हृदयले एकचोटि चिनेको आत्मा कहिल्यै बिर्सिन्न।”
यही त हो सायद, जीवनको अद्भुत संयोग—जहाँ अनुहार हैन, अनुभूति प्रेमको भाषा बोल्छ। र त्यो प्रेम, सामाजिक स्वीकृतिमा होइन, आत्माको स्वीकारोक्तिमा बाँच्छ।
मानवले अब सबै कुरा बुझिसकेको थियो—उनी बाल्यकालकी प्रकृति होइनन्। तर त्यो नामसँग गाँसिएको भावनाले उसलाई फेरि एक चोटि प्रेम गर्न सिकाएको थियो—शायद अनुहार फेरिएको थियो, तर अनुभूति त उही थियो।
शब्द होइन, अनुभूति नै सत्य हो। अनुभूतिमा नै प्रेम हो। र त्यही प्रेमको नाम थियो—प्रकृति।
क्रमशः

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।