एआई प्रविधिबाट सञ्चालित डेटा प्लेटफर्मदेखि आकाशमा उड्ने ड्रोनसम्म, चीनका जेनरेशन जेड (Gen Z) किसानहरूले आधुनिक कृषि प्रणालीलाई आत्मसात गर्दै छन् र किसान भन्नुको परिभाषा नै परिवर्तन गरिरहेका छन्।
उत्तर चीनको सान्सी प्रान्तस्थित इचेंग काउन्टीका २१ वर्षीय वाङ हुआन एक किसान परिवारमा जन्मिए र हुर्किए। उनले बाल्यकालमा ड्रोन कृषि सुरु नहुँदासम्मको परम्परागत खेतीका कठोर अनुभव अझै सम्झन सक्ने बताउँछन्। चीनको ग्रामिण भेगमा यस्तै कथाहरू दोहोरिँदै छन्। सान्सीको वानरोङ काउन्टीका डिङ चेहुइले गत वर्ष विश्वविद्यालय सकाएर गाउँ फर्किए र अत्याधुनिक शैलीमा कृषिमा संलग्न भए।
२२ वर्षीय डिङले स्थानीय कृषि सहकारीमा आबद्ध भई कृषि मेसिन सेवा दिन थालेका छन्। उनले आफ्ना अभिभावकलाई बेइडोउ (BeiDou) नेभिगेसन प्रणाली जडित मानवरहित बिउ छर्ने मेसिन किन्नसमेत प्रेरित गरेका छन्, जुन चौबीसै घण्टा सञ्चालन हुन सक्ने र यसले रोपाइँको दक्षता र शुद्धता उल्लेखनीय रूपमा बढाउने बताइएको छ।
“अहिलेका कृषि मेसिनहरू धेरै परिष्कृत भएका छन्, वातानुकूलित केबिन र प्रयोगमैत्री नियन्त्रण प्रणालीसहित। यीले काम गर्ने वातावरण धेरै सहज बनाएका छन्,” डिङ भन्छन्।
चीनको ग्रामीण पुनर्जागरण र कृषि आधुनिकीकरण अभियानसँगै वाङ र डिङजस्ता प्रविधिमा निपुण युवा किसानहरूले एआई, बिग डेटा र स्मार्ट मेसिनहरूसहित परम्परागत हातको औजारमा निर्भर कृषि पद्धतिलाई रूपान्तरण गर्दैछन्।
आधिकारिक तथ्यांकअनुसार चीनमा बाली जोत्नेदेखि रोपाइँ र भित्र्याइँसम्मको समग्र यान्त्रीकरण दर ७५ प्रतिशत नाघिसकेको छ। सन् २०२४ सम्म देशभर दुई लाखभन्दा बढी कृषि मेसिनहरू बेइडोउ प्रणालीसहित जडान गरिएका छन्, जसले ती मेसिनहरूलाई विश्वस्तरीय दक्षता र शुद्धतामा पुर्याएको छ।
यस वर्षको सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्को योजनामा सन् २०२७ भित्र कृषि क्षेत्रमा चीनलाई बलियो बनाउने लक्ष्य उल्लेख गरिएको छ। स्मार्ट कृषि प्रवृत्तिको विस्तारले कृषिलाई युवाहरूका लागि थप आकर्षक र सम्मानजनक व्यवसायको रूपमा प्रस्तुत गरिरहेको छ। पहिलेको पुस्ताले मेहनतसाध्य र सामान्य कामको रूपमा बुझ्ने खेती, अहिलेका जेन जेड किसानहरू गर्व र उद्देश्यका साथ अंगालिरहेका छन्।
“दिनभरको मेहनतपछि गहुँका बाला सुनिउनिएको देख्दा जुन सन्तुष्टि महसुस हुन्छ, त्यो शब्दमा व्यक्त गर्न सकिँदैन,” डिङ भन्छन्।
चिनियाँ सामाजिक सञ्जालमा #GenZTractorDrivers र #GenZTransformingTheFarmजस्ता ह्यासट्याग ट्रेन्ड भइरहेका छन्। “ड्रोनसँग खेतीको डायरी” वा “एआईसँग सुँगुर पाल्ने भ्लग” जस्ता सिर्जनात्मक भिडियोहरू भाइरल भइरहेका छन्। गत वर्ष गाओ यिङहाओ नामका एक युवाले आफू चलाएको हार्भेस्टर चढेर बिहे गर्न जाँदै गरेको भिडियोले सामाजिक सञ्जालमा प्रशंसा बटुलेको थियो।
वाङ हुआनका बुबा तथा स्थानीय कृषि सहकारीका प्रमुख वाङ शुमिङका अनुसार वाङका तीन कक्षासाथीहरूले उनको प्रेरणामा सहकारीमा आबद्ध भई छोटो समयमै विभिन्न कृषि मेसिन चलाउन सिकेका छन्।
“उनीहरूले छिटो सिक्छन्, खेतीप्रति गहिरो रुचि राख्छन् र परिश्रम गर्न डराउँदैनन्,” उनले भने, “उनीहरूको कामले मेरो सबै अपेक्षाभन्दा बढी नतिजा दिएको छ।”
वाङ भन्छन्, “अघिल्लो पुस्तामा हामीले पिठ्युँमा ट्याङ्की बोकेर घाममा बिषादी र मल छर्किन्थ्यौं, त्यो कहिल्यै नसकिने जस्तो लाग्थ्यो।”
अब भने उनी दक्ष ड्रोन चालक बनिसकेका छन्। उनी भन्छन्, “एक ड्रोनले एक दिनमा झन्डै दुई टन मल छर्न सक्छ, जुन काम पहिले तीन जनाले चारदेखि पाँच दिन लगाएर गर्नुपर्थ्यो।”
ड्रोन मात्र होइन, वाङले आधुनिक कृषिका अन्य उपकरणजस्तै हार्भेस्टर, बिउ छर्ने मेसिन र घाँस थुपार्ने बालरहरू पनि कुशलतापूर्वक चलाउन थालेका छन्।
स्रोतः ग्लोबल टाइम्स

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।