दाङ। अमेरिकी सरकारबाट विदेशी सहायता कार्यक्रम स्थगन गरिए पनि नेपालमा सञ्चालित मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) परियोजना निरन्तर रुपमा अगाडि बढाइने भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले यसबारे बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परियोजना स्थगन नगरी कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी निर्णयको स्वागत गरेको छ।
अमेरिकी वैदेशिक सहायता कार्यक्रममाथि लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट दिँदै एमसिसी नेपाल कम्प्याक्टलाई अगाडि बढाउन निर्णय भएको हो। अमेरिकी सरकारले चैत ८ गते पत्र पठाउँदै एमसिसी परियोजना अन्तर्गतका कार्य रोक्न नपर्ने स्पष्ट पारेको थियो।

एमसिसीमार्फत नेपालले ५० करोड अमेरिकी डलर अनुदान प्राप्त गर्दै आएको छ। यसमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा र ५ करोड २० लाख डलर पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिमा खर्च गर्ने योजना रहेको एमसिए–नेपालले जनाएको छ।
एमसिए–नेपालका अनुसार हालसम्म २९७ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मतसम्बन्धी खरिद प्रक्रिया सम्पन्न भइसकेको छ। यस्तै, तीन वटा सबस्टेशन र १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणको कार्य समेत अगाडि बढाइएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नतिका लागि ५ करोड २० लाख डलर विनियोजन गरिएको छ।

एमसिसी परियोजनालाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल प्रारम्भ गरेपछि ९० दिने पुनर्मूल्यांकन समय तोक्दै अन्य परियोजनासँगै रोक्न निर्देशन दिएका थिए। तर हाल अमेरिकी सरकारले पुनः मूल्याङ्कनपश्चात एमसिसी परियोजना यथावत् सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
