करिब दुई दशक लामो प्रयासपछि हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलीब्रिज निर्माण भएसँगै हुम्लाको सदरमुकाम सिमकोट भारत–चीन जोड्ने सडक सञ्जालमा समेटिएको हो।
करिब चार करोड रुपैयाँ बजेटमा नेपाली सेनाले ३५ दिनमै बेलीब्रिज निर्माण सकेको हो। पुलको औपचारिक उद्घाटन असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ।
योसँगै करिब २६ वर्षअघि सुरु गरिएको हुम्ला सडक योजनाको सपना पूरा भएको छ। गत वर्ष चैत अन्तिम साता नेपाली सेनाले साढे दुई सय ६९ किलोमिटर सडकमा ट्रयाक खोले पनि पुल नहुँदा सिमकोट पूर्ण रूपमा सडक सञ्जालमा जोडिएको थिएन।
रुपैडिहादेखि हिल्सासम्म एउटै गाडीमा यात्रा सम्भव
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार खार्पुमा पुल बनेपछि भारतीय सहर रुपैडिहादेखि चीनको हिल्सासम्म एउटै गाडीमा जान सकिने भएको छ। यसअघि पुल नहुँदा यात्रुहरूलाई तीनवटा सवारी साधन फेरि–फेरि चढ्नुपर्ने बाध्यता थियो। यो दुरी करिब पाँच सय पाँच किलोमिटर रहेको छ।
कर्णाली करिडोर अन्तर्गतको यो सडक कालीकोटको खुलालुबाट सुरु भई बाजुरा हुँदै हुम्लासम्म पुगेको छ।
सन् १९९७ (२०५४ साल) मा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फ्लुएन्जाले करिब ५० जनाको ज्यान गएपछि खाद्य अभावको दीर्घकालीन समाधानस्वरूप सडक योजनाको थालनी भएको हो। तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो।

२०५७ सालमा आन्तरिक स्रोतबाट सडक खन्न थालिएको र त्यसपछि विश्व खाद्य कार्यक्रमको ‘कामका लागि खाद्यान्न’ कार्यक्रम तथा दुर्गम क्षेत्र विकास समितिको सहयोगमा काम अघि बढाइएको थियो।
पछि केन्द्र सरकारको ध्यान गएर २०६९ सालमा हिल्सा–सिमकोट सडक आयोजना कार्यालय स्थापना गरिएको थियो। २०७१ सालदेखि भने नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
