• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व शान्तिका पक्षमा नेपाल: महराले सम्झिए आणविक हतियार निषेध सन्धिको हस्ताक्षर




खेमराज न्यौपाने
घोराही। तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन् २०१७ मा संयुक्त राष्ट्रसंघको ७२औं महासभामा नेपालको नेतृत्व गर्दै आणविक हतियार निषेध सन्धि (Nuclear Weapons Prohibition Treaty) मा हस्ताक्षर गरेको ऐतिहासिक क्षणलाई सामाजिक सञ्जालमार्फत स्मरण गरेका छन्।

फेसबुकमा सार्वजनिक गरिएको स्टाटसमा महराले लेखेका छन्, “मैले नेपाल आणविक हतियारविहीन विश्वको परिकल्पनालाई साथ दिँदै सन् २०१७ मा उक्त सन्धिमा हस्ताक्षर गरेको थिएँ।” उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको हैसियतमा नेपालको तर्फबाट महासभामा भाग लिँदै सो सन्धिमा हस्ताक्षर गरेका थिए।

उक्त सन्धिले आणविक हतियारको प्रयोग, विकास, परीक्षण, भण्डारण वा स्थानान्तरणलाई कुनै पनि अवस्थामा पूर्ण रूपमा निषेध गर्दछ। नेपालले यस सन्धिमा संलग्न भई अन्तर्राष्ट्रिय स्तरमा आणविक निशस्त्रीकरणप्रति आफ्नो अटल प्रतिबद्धता पुनः पुष्टि गरेको हो। महराले लेखेका छन्, “सन्धिमा हस्ताक्षर गरेसँगै नेपालले सबै प्रकारका सामूहिक विनाशकारी हतियारहरूको निशस्त्रीकरणसम्बन्धी आफ्नो सैद्धान्तिक र स्थिर धारणा कायम राखेको छ।”

महराले आजको विश्व सन्दर्भमा यस्तो सन्धिको महत्त्व झनै बढेको उल्लेख गरेका छन्। उनका अनुसार, आणविक हतियार निषेध सन्धिमा नेपालको सहभागिताले विश्व शान्तिका लागि टेवा पुर्‍याएको छ र यसमा नेपाल अझ दृढ रहनुपर्ने आवश्यकता छ।

नेपाल शान्तिप्रिय राष्ट्रका रूपमा चिनिँदै आएको छ र उसको परराष्ट्र नीति सधैं अहिंसा, सहअस्तित्व र निरस्त्रीकरणमा आधारित रहँदै आएको छ। महराको नेतृत्वमा भएको उक्त कदमले न केवल नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाएको छ, तर विकासोन्मुख मुलुकहरूले शान्तिको पक्षमा लिन सक्ने भूमिकालाई पनि उदाहरणीय बनाएको छ।

विगतदेखि नै संयुक्त राष्ट्रसंघका शान्ति स्थापनामूलक अभियानहरूमा सक्रिय रहँदै आएको नेपालका लागि यस सन्धिमा सहभागिता एक दूरदर्शी कूटनीतिक निर्णयका रूपमा स्मरणीय रहने देखिन्छ।

Facebook Comments