✍️ नवीन श्रेष्ठ
पछिल्ला दिनहरूमा समाजमा एउटा धारणा व्यापक बनिरहेको छ—सबै दल एउटै हुन्, सबै नेता उस्तै हुन्। राजनीतिक भ्रष्ट्राचार, असफलता र जनताप्रति बेवास्ताको निरन्तर दोहोरिएको चक्रले यस्तो बुझाइ जन्मिनु स्वाभाविक हो। तर प्रश्न उठ्छ—के साँच्चै सबै दल एउटै हुन्? के तिनीहरूको विचार, व्यवहार, नीति र नेतृत्व समान छन्?
यो प्रश्नलाई भावनाले होइन, विवेकले बुझ्न आवश्यक छ। इतिहास, घटनाक्रम र नीतिगत दृष्टिकोणको तुलनात्मक विश्लेषण गर्दा यथार्थ के देखिन्छ?
संविधान बनाउने र जलाउने फरक हुन्
जनआन्दोलन र शान्ति प्रक्रियापछि संविधानसभाबाट बनाइएको समावेशी संविधान ल्याउने दलहरू र त्यही संविधान अस्वीकार गर्ने, जलाउने समूहहरू एउटै हुन सक्छन्? एउटाले लोकतान्त्रिक भविष्यको बाटो खोल्यो, अर्कोले त्यसको विरोध गर्यो। यो मूल्य र ध्येयको गम्भीर अन्तर हो।
समावेशी सोच र बहिष्कारी प्रवृत्ति
दलित, महिला, मुस्लिम, जनजाति, मधेसी र अन्य वञ्चित समुदायका अधिकार सुनिश्चित गर्न कानुनी र संरचनात्मक व्यवस्था गर्ने दल र तिनलाई ‘भोट बैंक’ भनेर हेप्ने सोच एउटै कसरी हुन्छ? एउटा राजनीतिक धार सामाजिक न्यायको पक्षमा उभिन्छ, अर्काे सत्ताको वर्चस्व जोगाउन।
गल्ती स्वीकार्ने र लुकाउने संस्कार
‘मैले गल्ती गरेँ भने कारबाही होस्’ भन्ने प्रधानमन्त्री र आफ्ना मानिसहरू दोषी ठहरिँदा ढाकछोप गर्ने नेतृत्वबीचको अन्तर सामान्य छैन। जवाफदेहिता लोकतान्त्रिक संस्कार हो, बहाना खोज्ने प्रवृत्ति सत्तावादको संकेत।
व्यावसायिक नेतृत्वको कदर कि बदनाम नातावाद
लोडसेडिङ अन्त्य गर्न कुलमान घिसिङले गरेको योगदान देशले महसुस गर्यो। उनलाई समर्थन गर्ने र हटाएर आफ्ना सालो वा कार्यकर्तालाई ल्याउने सोच एउटै होइन। दक्षता र नातावादबीचको विकल्प यहाँ स्पष्ट छ।
आलोचना सहने र निषेध गर्ने शैली
आलोचना गर्नेलाई निष्कासित गर्ने दल र आलोचना सुन्ने, सुधार गर्ने नेतृत्वबीचको भिन्नता लोकतान्त्रिक संस्कारको परीक्षा हो। बहस र छलफलको ठाउँ बचाइराख्ने संस्कृति नै लोकतन्त्रको मेरुदण्ड हो।
मानव तस्करको संरक्षण कि भण्डाफोर ?
जनतालाई बेच्ने मानव तस्करहरूको संरक्षण गर्ने, कानुनबाट जोगाउने दल र तिनै अपराधहरूको पर्दाफास गर्ने दलबीच नैतिकता र जनउत्तरदायित्वको हिसाबले गहिरो अन्तर छ। कानुनको शासनमा को अडिएको छ भन्ने मूल्यांकन यहाँ आवश्यक हुन्छ।
भ्रष्टाचारको फाइल खोल्ने र छोप्ने सोच
कतिपय दल सार्वजनिक हितमा भ्रष्टाचारका फाइल सार्वजनिक गर्छन्, केही ती फाइल लुकाउँछन्, छोप्छन्। यो केवल प्रशासकीय कुरा होइन—नीतिगत र नैतिक दृष्टिकोणको प्रश्न हो।
नयाँ अनुहारप्रति दृष्टिकोण
गणतन्त्रले नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोच र नयाँ अनुहार देखेपछि प्रतिशोधको भावना राख्ने सोच समान हुन सक्दैन। नेतृत्व हस्तान्तरणको विषयले दलको लोकतान्त्रिक चरित्र देखाउँछ।
वर्गीय पक्षधरताको सवाल
श्रमिक, किसान, विपन्न वर्गको पक्षमा नीतिगत प्राथमिकता दिने दल र ठूला व्यवसायी, माफिया र शक्तिशाली सञ्जालको एजेन्ट बन्ने दलको नीतिगत उद्देश्य समान छैन। नीतिले नेतृत्वको वर्गीय र सामाजिक धार प्रष्ट गर्छ।
सहिष्णुता र संवादको संस्कृति
असहमति राख्नेलाई गाली गर्ने र बहस गर्नेलाई स्वागत गर्ने संस्कार एउटै हुन सक्दैन। लोकतन्त्र गालीको होइन, विचारको संस्कृति हो। जसले आलोचनालाई सहन्छ, ऊ जनताको सरकार हुन सक्छ।
निष्कर्ष
यी सबै दृष्टान्तहरूले देखाउँछन्—सबै दल एउटै होइनन्। सुधारको आवश्यकता सबैमा हुन्छ, तर फरक छुट्याउने विवेक हामी सबैमा हुनुपर्छ। लोकतन्त्रमा सबैलाई एउटै सोलोडोलोमा राखेर हेरिने सोच स्वयं लोकतन्त्रविरोधी प्रवृत्ति हो।
विवेक प्रयोग गरौँ, विश्लेषण गरौँ, अनि मात्र निष्कर्ष निकालौँ। किनभने सबै उस्तै छैनन्—र त लोकतन्त्रले विकल्प सम्भव बनाउँछ।
(लेखक स्वतन्त्र विश्लेषक तथा राजनीतिक अध्ययनमा रुचि राख्ने युवा हुन्।)

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
