दाङ । नेकपा (एमाले) भित्र फेरि नेतृत्व र गुटको बहस तीव्र बन्दै गएको छ। केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा निश्चित स्वार्थ समूहहरूको प्रभाव यसरी मौलाउँदै गएको छ कि पार्टीको वैचारिक जग नै कमजोर पार्ने खतरा बढेको छ।
यी गुटहरूलाई कुनै वैचारिक आधार छैन। स्वार्थ मिले नेतृत्वको जयजयकार गर्छन्, नमिल्दा त्यही नेतृत्वलाई अपदस्थ गर्न पात्र खडा गर्छन्। कहिले सचिवालयको बहुमतको नाममा पार्टी कब्जा गर्ने प्रयास देखिन्छ, कहिले पार्टीभित्रै चरित्रहत्या र शक्तिकेन्द्रित षड्यन्त्र चलाइन्छ। यस्तो प्रवृत्तिले पार्टी संगठन मात्र होइन, देशकै लोकतान्त्रिक अभ्यासलाई गम्भीर संकटमा पार्ने खतरा बोकेको छ।
एमालेजस्तो ठूलो र पुरानो पार्टीमा नेतृत्वको बहस स्वाभाविक कुरा हो। तर त्यो बहस विचार र दृष्टिकोणमा आधारित हुनु पर्ने हो, व्यक्तिविशेष र गुटगत स्वार्थमा होइन। मदन भण्डारीको वैचारिक विरासत कुनै परिवार वा व्यक्तिले होइन, पार्टी संगठन र विचारले अगाडि बढाउने हो। तर आज त्यही वैचारिक धरोहरलाई गुटगत स्वार्थका कारण कमजोर पार्ने प्रयास भइरहेको छ। यो पार्टीभित्रको क्यान्सर हो, जसको समयमै उपचार नगरे त्यसले पार्टीलाई मात्र होइन, मुलुकलाई नै हानि पुर्याउनेछ।
दोस्रो कुरा, आजको युग युवा नेतृत्वको युग हो। बुर्किन फासोदेखि धेरै मुलुकसम्म युवाहरूले नेतृत्व सम्हालेर मुलुक बदलिरहेका उदाहरण छन्। तर यहाँ पुराना नेताहरू ‘रिटायर’ हुन नमानेर नेतृत्वको बहसलाई निजी महत्त्वाकांक्षाको घेरामा राखिरहेका छन्। यो प्रवृत्तिले पार्टीभित्र नयाँ विचार र ऊर्जा प्रवेश गर्न दिँदैन।
एमालेभित्रको आजको विवादमा पार्टीभित्रभन्दा बढी पार्टीबाहिरका तत्व रमाइरहेका छन्। यो अवस्था पार्टीलाई क्षति पुर्याउने मात्र होइन, राष्ट्रिय हित र स्थिरता विरुद्धको षड्यन्त्र बन्न सक्छ।
त्यसैले, आजको आवश्यकता नेतृत्व परिवर्तन त हो त्यो राजनीतिक, वैचारिक, संग ठन, कार्यादिसा र कार्यक्रम मा प्रष्ट भएको पुस्तान्तरन हुनुपर्छ भन्ने हो । कुनै राजकीय पद खायकोले हैन ।
पार्टी जोगाउने जिम्मेवारी नेताहरूको होइन, सचेत कार्यकर्ताहरूको हो। नेताहरूको पद र प्रतिष्ठाको झगडाले होइन, विचार र जनविश्वासको बलमा एमालेजस्ता दलहरू बच्नेछन्।
अब प्रश्न यति हो — एमाले बुर्किना फासो देशको नेता इब्राहिम ट्राउरे जस्तै नेतृत्वको बाटो रोज्ने कि डेट-एक्सपायर नेतृत्वकै घेरामा घुमिरहने?
बिनोद केसी, घोराही दाङ

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
