दाङ। दाङको बंगलाचुली गाउँपालिका–६ रिभानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
घाइते हुनेहरूमा बंगलाचुली–६ रिभानकी १५ वर्षीया आयुषा वि.क, १५ वर्षीया पुनम महरा र १४ वर्षीय नविन महरा रहेका छन्। गम्भीर घाइते पुनम महारालाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने बंगलाचुली अस्पतालमै उपचार भइरहेको छ।
घोराहीबाट खानेपानीको पाइप र वालुवा लिएर रिभानतर्फ गइरहेको लु ४ त ९५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटना आइतवार दिउँसो करिब ५ बजे भएको इलाका प्रहरी कार्यालय कमिरेचौरले जनाएको छ।
सुधा मावि झेलनेटामा अध्ययनरत ती विद्यार्थीहरू विद्यालयबाट घर फर्किँदै गर्दा बाटोमा सोही ट्याक्टरमा चढेका थिए। ट्याक्टरको पछाडिको ढालामा बसेका उनीहरू सन्तुलन गुमाउँदा घाइते भएको बताइएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
