राजीव योगी
घोराही । गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ, चौघेराको आयोजनामा मठ व्यवस्थापन तथा सञ्चालनबारे अन्तरक्रिया कार्यक्रम मठको सभाहलमा सम्पन्न भएको छ।
विगत लामो समयदेखि मठसँग सम्बन्धित विषयमा समुदायस्तरमा छलफलको आवश्यकता रहे पनि औपचारिकरूपमा अन्तरक्रिया हुन नसकेको अवस्थामा मठसँग सम्बद्ध स्थानीयहरूको पहलमा कार्यक्रम आयोजना गरिएको हो। मठाधीश पीर योगी ब्रह्मनाथको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मठको सम्पत्ति, आम्दानी, खर्च, सम्भाव्यता र संरक्षणबारे गहन छलफल भएको थियो।
कार्यक्रममा मठद्वारा प्रस्तुत कार्यपत्रमा मुख्यतः मठको जग्गासम्बन्धी विवरण उल्लेख गरिएको थियो। कार्यपत्रमा विगतको तुलनामा मठको जग्गा क्षेत्रफल घटेको कारण प्रस्ट्याइएको थियो।
संस्कृतिविद् तथा मठ सञ्चालक समिति सदस्य डा. गोविन्द आचार्यले आम्दानीका परम्परागत स्रोतहरू घट्दै गएकाले मठको दैनिक सञ्चालनमा कठिनाइ आएको बताए। सल्लाहकार हरिप्रसाद पाण्डेले मठको जग्गा वर्गीकरण गर्दै संरक्षण र पुनःप्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए। वडाध्यक्ष तथा समिति सदस्य रामलौटन चौधरीले मठको प्रचारप्रसारमा स्थानीय निकायको अभिभावकीय भूमिका रहने स्पष्ट पारे।
पूर्व पीर मठाधीश जोगी देवनाथले योग्य व्यक्तिलाई जिम्मेवारी दिइ मठले नाथ सम्प्रदायको राष्ट्रिय नेतृत्व लिन सक्ने सम्भावनाको कुरा उठाए। स्थानीय कैलास योगीले समुदायको शून्य सहभागिताले मठको अपेक्षित उन्नति हुन नसकेको बताए।

क्रिकेट संघ नेपालका केन्द्रीय सदस्य प्रदीप मजगैंयाले भारतबाट आउने श्रद्धालुहरूको व्यवस्थापन र विशेष कार्ययोजना अघि सार्न सुझाव दिए। शेषदत्त चौधरीले मठको जग्गा आफैं प्रयोग गरेर लाभ लिन सकिने बताए भने लक्ष्मी नारायण शर्माले ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण अभावले मठको सम्भावनामा अवरोध आएको बताए।
तदर्थ समितिका सचिव राजीव योगीले मठ व्यवस्थापन, कर्मचारी सक्रियता, र जनसहभागिताका विभिन्न पक्षमा सुझाव प्रस्तुत गरे। सचिव डा. भोलानाथ योगीले समय अभावका कारण प्रचारप्रसारमा कमी भएको स्वीकार गर्दै योग्य व्यक्ति आएमा मार्ग प्रसस्त गर्ने बताए।
कानुनविद् कृष्णबहादुर डाँगीले मठका पुराना द्रव्यहरूलाई सार्वजनिक संग्राहलयमा राख्नुपर्ने बताए। दामोदर सुवेदीले हिसाब सार्वजनिक गर्दै सामाजिक लेखापरीक्षण गर्न र जातीय विभेद अन्त्य गर्न माग गरे। उद्योग वाणिज्य संघ दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, स्थानीय कल्पना योगीलगायतले समुदायको भूमिकामा जोड दिए।
कार्यक्रमको स्वागत मन्तव्य हरिप्रसाद पाण्डेले दिएका थिए भने सञ्चालन समितिका सदस्य तथा अतिरिक्त क्रियाकलाप संयोजक तोयनाथ योगीले सहजीकरण गरेका थिए। पूर्व मेयर अमरबहादुर डाँगी, मठका महन्त योगी सुरतनाथ, डा. मनोज अधिकारी, जगन्नाथ गिरी, बिमल भण्डारी, चौघेरा खानेपानी, विभिन्न टोल विकास संस्था, स्कुल प्रतिनिधि लगायतका झण्डै दुई सय सहभागीको उपस्थिति रहेको उक्त कार्यक्रममा मठको समुचित व्यवस्थापन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
