काठमाडौँ । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याइएको छ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट बिहीबार शुभारम्भ गर्नुभएको हो ।
यो एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुने छ ।
यो विवरण प्राप्त भएपछि नेपाली रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ।परराष्ट्र मन्त्री डा. राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपाली सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताउनुभयो।
श्रममन्त्री शरदसिंह भण्डारीले बिहीबार सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठुलो राहात प्रदान गर्ने बताउनुभयो।
उहाँले नेपाली को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजविहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकलाई यसले ठुलो सहायता प्रदान गर्ने बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।