दाङ। इरानमाथि अमेरिकी आक्रमण भएको घटनाप्रति कडा आपत्ति जनाउँदै नेपालका प्रमुख कम्युनिस्ट दलहरू एकजुट भएका छन्। देशका विभिन्न धार र पृष्ठभूमिका वामपन्थी नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी साम्राज्यवादको संरक्षणमा भइरहेको आक्रमणको विरोध गरेका हुन्।
वक्तव्यमा भनिएको छ, “इरानमाथिको हमला केवल एक राष्ट्रमाथिको आक्रमण होइन, यो इस्लामिक सभ्यता, पवित्र स्थल र सम्पूर्ण मानवतामाथिको हमला हो।” उनीहरूले अमेरिकी साम्राज्यवादले इस्रायली सत्तामार्फत गाजामा र अब इरानमा गरेको हिंसा अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि गम्भीर चुनौती भएको औंल्याएका छन्।
नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूका शीर्ष नेताहरू—जसमा नेकपा (मसाल) का मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, माओवादी केन्द्रका देव गुरूङ, नेपाल कम्युनिस्ट पार्टीका नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का वरराम बाँस्कोटा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (पीपिएम) का पवनमान श्रेष्ठ, नेकपा (बहुमत) का कृष्णप्रकाश शर्मा, नेकपाका रामबहादुर भण्डारी, वाम बुद्धिजीवी मिनु चापागाईं र राजनीतिक संवाद थालनी संयोजक बाइसीठ शेरपा सम्मिलित छन्—ले उक्त वक्तव्यमा संयुक्त रूपमा दस्तखत गरेका छन्।
वक्तव्यमा नेपाल सरकारलाई समेत आह्वान गर्दै नेताहरूले स्पष्ट रूपमा अमेरिकी आक्रमणको विरोध गर्नुपर्ने माग गरेका छन्। “नेपालले तटस्थ परराष्ट्र नीतिको संरक्षण गर्दै अमेरिकी हस्तक्षेप र आक्रमणको भर्त्सना गर्नुपर्छ,” वक्तव्यमा उल्लेख गरिएको छ।
२०८२ साल जेठ ५ गते जारी गरिएको यो वक्तव्यले नेपाली वामपन्थी शक्तिहरूबीच साझा अन्तर्राष्ट्रिय मुद्दामा एकताको सन्देश दिएका छ्न।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
