• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अमेरिकाकै सहयोगमा सुरु भएको थियो इरानमा परमाणु कार्यक्रम




इरानको परमाणु कार्यक्रम अहिले विश्व राजनीतिमा विवादास्पद विषय बनेको छ। अहिले परमाणु केन्द्र लक्षित आक्रमण गरे पनि अमेरिकाकै सहयोगमा इरानमा परमाणु कार्यक्रम सुरु भएको ऐतिहासिक तथ्यहरुले देखाएका छन् । सन् १९५० को दशकमा अमेरिकी ‘Atoms for Peace’ कार्यक्रम अन्तर्गत इरानलाई शान्तिपूर्ण प्रयोजनका लागि परमाणु प्रविधि हस्तान्तरण गरिएको थियो।

त्यसबेला शाह मोहम्मद रेजा पहलवीको शासनकालमा पश्चिमा मुलुकहरूसँग नजिकको सम्बन्ध रहेको र सोभियत प्रभावको सन्तुलनका लागि अमेरिका आफैंले इरानलाई रणनीतिक सहयोग गरेको थियो। प्रारम्भिक रिएक्टर स्थापना, वैज्ञानिक तालिम र प्रयोगशालासमेत अमेरिकाले उपलब्ध गराएको थियो।

इस्लामी क्रान्तिपछि कार्यक्रम रोकिए पनि पुनः सक्रिय

सन् १९७९ को इस्लामी क्रान्तिपछि केही वर्ष इरानको परमाणु कार्यक्रम स्थगित भयो। तर नयाँ इस्लामिक गणतन्त्र सरकार बनेपछि उक्त कार्यक्रम पुनः सक्रिय पारिएको हो। त्यसयता इरानले घरेलु प्रविधिमा आधारित परमाणु पूर्वाधार निर्माणमा जोड दिँदै आएको छ।

नताञ्ज, फोर्दो, इस्फाहान र अराकजस्ता केन्द्र सक्रिय

हाल इरानसँग नताञ्ज र फोर्दोमा युरेनियम प्रवर्धन केन्द्र, इस्फाहानमा युरेनियम रूपान्तरण केन्द्र र अराकमा भारी–पानी रिएक्टर निर्माण स्थल रहेका छन्। फोर्दो भूमिगत संरचना भएकाले सम्भावित हवाई आक्रमणबाट सुरक्षित मानिन्छ।

६० प्रतिशतसम्म युरेनियम प्रवर्धन

इरानले प्रारम्भमा तीन दशमलव छ सात प्रतिशतसम्म मात्र युरेनियम प्रवर्धन गर्ने बताउँदै आएको थियो। तर पछिल्ला वर्षमा उसले ६० प्रतिशतसम्म प्रवर्धन गरिरहेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले जनाएको छ। आणविक हतियार बनाउन ९० प्रतिशत प्रवर्धन आवश्यक पर्छ, तर ६० प्रतिशतसम्म प्रवर्धन हुनु आफैंमा चिन्ताको विषय बनेको छ।

IAEA का अनुसार हाल इरानसँग ६० प्रतिशत प्रवर्धन गरिएको ६० किलोग्रामभन्दा बढी युरेनियम रहेको छ। यसबाहेक, २० प्रतिशत स्तरमा प्रवर्धन गरिएको करिब ५५० किलोग्राम युरेनियम पनि भण्डारणमा रहेको अनुमान गरिएको छ। यस्ता परिमाणले इरानलाई छोटो समयमा हतियार बनाउन सक्ने ‘ब्रेकआउट क्षमता’मा पु¥याइसकेको विश्लेषकहरू बताउँछन्।

JCPOA सम्झौता र अमेरिकाको एकपक्षीय बहिर्गमन

सन् २०१५ मा इरानले अमेरिका, युरोपेली संघ, रुस, चीनलगायत देशहरूसँग संयुक्त समग्र कार्ययोजना (JCPOA) मा हस्ताक्षर गरी परमाणु गतिविधि सीमित गर्ने सहमति जनाएको थियो। तर सन् २०१८ मा ट्रम्प प्रशासनले सम्झौताबाट बाहिरिएपछि सम्बन्ध तनावपूर्ण बनेको हो। प्रतिबन्ध पुनः लागेपछि इरानले पनि प्रवर्धनको मात्रा बढाएको छ।

इरानको दाबी र अन्तर्राष्ट्रिय चिन्ता

इरानले परमाणु कार्यक्रम शुद्धरूपमा उर्जाका लागि मात्रै भएको दाबी गर्दै आएको छ। तर अमेरिका, इजरायल र युरोपेली मुलुकहरूले भने इरान गुपचुप रूपमा हतियार निर्माणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन्।

हालै इजरायल वा अमेरिकाबाट इरानका केही परमाणु स्थापनामाथि आक्रमण भएको दाबी सार्वजनिक भएका छन्। यस्ता घटनाहरूले इरानको परमाणु संरचना मात्र होइन, सम्पूर्ण क्षेत्रीय स्थायित्वमा असर गर्ने खतरा बढाएको छ।

प्रमाणित हतियार छैन, तर सामर्थ्य पुगेको अनुमान

हालसम्म इरानसँग कुनै प्रमाणित आणविक हतियार नभए पनि उसले छोटो समयमा हतियार बनाउन सक्ने प्रविधि, कच्चा पदार्थ र वैज्ञानिक संरचना तयार गरिसकेको तथ्यले अन्तर्राष्ट्रिय समुदायलाई सतर्क बनाएको छ।

विश्लेषकहरूका अनुसार अब कूटनीतिक पहल र संयमित वार्ताबाट मात्र यो संकट टार्न सकिन्छ, अन्यथा मध्यपूर्वमा नयाँ द्वन्द्व चर्किने सम्भावना प्रबल हुँदै गएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा

Facebook Comments