• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
इरान–इजरायल युद्धमा फेक सूचनाको बाढी, एआईको दुरुपयोग




इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि सामाजिक सञ्जालमा गलत सूचना फैलाउने अभियान तीव्र बनेको छ। BBC Verify को अनुसन्धान अनुसार, पछिल्लो केही दिनयता कृत्रिम बौद्धिक प्रविधि (एआई) प्रयोग गरेर बनाइएका दर्जनौँ भिडियोहरू अनलाइनमा फैलाइएका छन्, जसले इरानको जवाफी कारबाहीलाई अत्यधिक सफल देखाउन खोजेका छन्।

प्राप्त विवरणअनुसार, इरानको सैन्य क्षमताको बखान गर्दै बनाइएका एआई भिडियोहरू, साथै इसरायली सहरमाथि आक्रमणको नक्कली दृश्यहरू लाखौँ प्रयोगकर्ताले हेरेका छन्। BBC Verify ले पहिचान गरेका तीन नक्कली भिडिओ मात्रै १० करोडभन्दा बढी पटक हेरेका छन्।

इसरायल समर्थक प्रयोगकर्ताहरूले समेत पुराना विरोध प्रदर्शनका भिडिओ सेयर गर्दै इरानभित्र सरकारविरुद्ध असन्तुष्टि बढिरहेको दाबी गरिरहेका छन्। ती भिडिओहरू यथार्थ नभइ पुराना सामग्री दोहोर्याइएको पुष्टि भएको छ।

इसरायलले १३ जुनमा इरानमाथि हमला गरेपछि इरानले मिसाइल र ड्रोनमार्फत जवाफी कारबाही गरिरहेको छ। यता, खुला स्रोतबाट सामग्री विश्लेषण गर्ने एक संस्थाले अनलाइनमा फैलिएको गलत सूचनाको मात्रा “अचम्मलाग्दो” रहेको प्रतिक्रिया दिएको छ। केही प्रयोगकर्ताहरूले गलत सूचना फैलाएर ध्यान खिच्ने र सामाजिक सञ्जालको आम्दानी प्रणाली प्रयोग गरी नाफा कमाउने प्रयास गरिरहेको आरोप लगाइएको छ।

Geoconfirmed भेरिफिकेसन समूहका अनुसार पाकिस्तानका असम्बन्धित भिडिओ, २०२४ अक्टोबरको पुराना मिसाइल आक्रमण, भिडियो गेमका क्लिप तथा एआई सामग्रीहरूलाई वास्तविक घटनाको रूपमा सेयर गरिएको पाइएको छ।

कतिपय प्रो–इरान खाताहरूले अत्यधिक सामग्री सेयर गरेर फलोअर्स वृद्धि गरिरहेका छन्। Daily Iran Military नामक खाताका फलोअर्स एक सातामै ७ लाखबाट बढेर १४ लाख पुगेका छन्। यस्ता खाताहरूले सरकारी खाताको जस्तो नाम, ब्लू टिक र नियमित पोस्टमार्फत प्रयोगकर्तालाई भ्रमित गराइरहेका छन्।

विश्लेषक एमानुएल सालीबाका अनुसार, यो पहिलो पटक हो जुन कुनै द्वन्द्वको बेला ठूलो मात्रामा एआई सामग्री प्रयोग भएको छ। उनका अनुसार, इरानको जवाफी आक्रमण प्रभावकारी देखाउन दर्जनौँ एआई तस्वीर तथा भिडिओ पोस्ट गरिएका छन्। एउटा भिडिओमा तेलअवीभ सहरमाथि दर्जनौँ मिसाइल खसेको देखाइएको छ, जसलाई २७ मिलियन पटक हेरिएको छ।

त्यस्तै, केही भिडिओहरूले रातको समयमा इजरायली भवनमाथि आक्रमण भएको देखाउने प्रयास गरेका छन्। रातको दृश्य भएका भिडिओहरू सत्यापन गर्न कठिन हुने भएकाले यस्ता सामग्री बढी फैलिएको बताइएको छ।

इरानले इसरायली F-35 लडाकु विमानहरू खसालेको दाबी गरिएका भिडिओहरूको समेत पुष्टि हुन सकेको छैन। Alethea समूहका प्रमुख लिसा क्याप्लनका अनुसार ती भिडिओ सत्य भएको भए इसरायलको लडाकु विमानको १५ प्रतिशत नष्ट भइसकेको हुने थियो।

TikTok मा भाइरल भएको एक भिडिओले इरानले F-35 खसालेको देखाए पनि त्यो सिमुलेटर भिडियो गेमबाट लिइएको पुष्टि भएको छ। BBC Verify को सम्पर्कपछि TikTok ले उक्त भिडिओ हटाएको हो।

क्याप्लनका अनुसार यस्ता गतिविधिहरू पछाडि रूसी प्रभाव अभियान हुनसक्ने संकेत छन्। हालै रूसले युक्रेन युद्धका सन्देशहरूबाट ध्यान मोड्दै अमेरिकी हतियारमाथि जनविश्वास घटाउने रणनीति अपनाएको विश्लेषकहरू बताउँछन्।

यसैबीच, केही चर्चित खाताहरूले द्वन्द्वलाई आम्दानीको स्रोतका रूपमा प्रयोग गरिरहेको अनुमान गरिएको छ। कतिपय प्लेटफर्ममा भिडिओ भ्यूका आधारमा रकम प्रदान गरिने प्रणाली छ।

त्यसैगरी, इरानमा सरकारविरुद्ध असन्तुष्टि देखाउन खोजिएको अर्को भिडिओमा “हामी इसरायललाई माया गर्छौं” भन्दै तेहरानमा नारा लगाइएको देखाइएको छ, तर भिडिओ एआईबाट निर्माण गरिएको पुष्टि भएको छ।

अमेरिकी B-2 बमवर्षक विमानका केही एआई तस्वीरहरू पनि भाइरल भएका छन्। इरानको भूमिगत आणविक केन्द्रमा आक्रमण गर्न सक्षम भएकाले ती विमानसँग जोडिएका सामग्री बढी फैलिएको देखिन्छ।

अझ अचम्मको कुरा के भने, इरान र इसरायल दुवै देशका सरकारी निकायले समेत केही नक्कली सामग्री सेयर गरेका छन्। इरानी सरकारी मिडियाले F-35 खसेको नक्कली तस्वीर सार्वजनिक गरे भने, इसरायली डिफेन्स फोर्स (IDF) ले सेयर गरेको पुरानो भिडिओलाई X मा ‘कम्युनिटी नोट’ थपेर असत्य करार गरिएको छ।

BBC Verify का अनुसार धेरै गलत सूचना X मा फैलिएको छ। कतिपय प्रयोगकर्ताले तथ्य पत्ता लगाउन X कै एआई च्याटबोट Grok प्रयोग गर्दा पनि केही अवस्थामा उक्त च्याटबोटले नक्कली भिडिओलाई नै वास्तविक बताएको देखिएको छ।

विश्लेषक सालीबाले भनिन्, “एउटा भिडिओमा पहाडभित्रबाट मिसाइल ट्रकहरू अनगिन्ती रूपमा निस्किरहेको देखिन्छ। तर त्यहाँका ढुंगाहरू आफैँ हल्लिरहेको देखिन्छ—जसले त्यो भिडिओ एआईबाट बनाइएको पुष्टि गर्छ।”
स्रोतः बिबिसी

Facebook Comments