घोराही । घोराही उपमहानगरपालिका अन्तर्गत बसपार्क क्षेत्रका विभिन्न होटेलमा प्रहरीले एकैसाथ छापा मार्दा २७ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १४ जना पुरुष र १३ जना महिला रहेका छन्।
प्रहरीका अनुसार उनीहरू आपत्तिजनक अवस्थामा फेला परेका थिए। गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले असार २ गते दर्जनौँ होटेलमा एकसाथ अनुगमन तथा छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी चक्रबहादुर शाह अनुसार, पक्राउ परेकामध्ये केहीविरुद्ध आवश्यक अनुसन्धानपछि मुद्दा दर्ता गरिने अवस्था देखिएको छ। “केही व्यक्तिको गतिविधि आपराधिक देखिएकाले कानुनी प्रक्रिया अघि बढाइनेछ,” उहाँले भन्नुभयो।
प्रहरीले होटेल सञ्चालकको संलग्नताबारे पनि छानबिन गरिरहेको जनाएको छ। छापामा समेटिएका होटेलहरूको नाम र पक्राउ परेकाहरूको परिचय भने हालसम्म खुलाइएको छैन। प्रहरीले अनुसन्धानलाई असर नपरोस् भनी ती विवरण सार्वजनिक नगरेको जनाएको छ।

फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।

