• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरमा शिक्षकहरुको लागि पेशागत तथा क्षमता विकास तालिम सुरू




श्रवण कुमार यादव
राजपुर। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले राजपुर गाउँपालिकामा बालविकास तथा आधारभूत तहका शिक्षकहरूका लागि पेशागत तथा क्षमता विकास तालिम सुरू भएको छ।

सनस्टोन ग्रुप अफ बिजिनेस एण्ड सर्भिसेस प्रा.लि. तथा लुम्बिनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्राविधिक सहकार्यमा र राजपुर गाउँपालिकाको आयोजनामा आज आइतबार देखि गाउँपालिकाकाे सभाहलमा उक्त तालिमकाे उद्घाटन भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले सहभागी शिक्षकहरूको ज्ञान र सीपमा वृद्धि भई विद्यालयमा गुणस्तरीय शिक्षाको विकास हुने बताउनुभयो। उहाँले राजपुर गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिँदै अहिले यस्तो किसिमको तालिममा लगानी गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो- “तालिममा सहभागी भएर आफूलाई रूपान्तरण गर्नुस्, यसले विद्यार्थी र विद्यालयमा दीर्घकालीन असर पार्नेछ। तालिमले शिक्षकहरूमा पेशागत क्षमता, व्यवहार परिवर्तन र शिक्षा क्षेत्रमा समर्पणको नयाँ ऊर्जा थप्नेछ। राजपुर गाउँपालिकाले शिक्षामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा राखेको भन्नुभयो।”

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले शुभकामना मन्तव्य दिँदै भन्नुभयो- “तालिम भनेको ताजगी ल्याउने माध्यम हो। शिक्षामा गुणात्मक परिवर्तन ल्याउन शिक्षकको मनोबल र सीप अभिवृद्धि अनिवार्य छ।” उहाँले बालविकास सहजकर्ताले पनि साना बालबालिकालाई विद्यालय आउन प्रेरित गर्नसक्ने खालको बालमैत्री विद्यालय बनाउने बताउनुभयो।

तालिमका प्रशिक्षकका रूपमा रहेका किशोर प्रसाद खनालले तालिमको सार प्रस्तुत गर्नुभयो। उहाँले ‘त’ भनेको तालमा ताल मिलाउने, ‘लि’ भनेको लिने पनि दिने पनि, ‘म’ भनेको मनैदेखि। शिक्षकले चाहे भने शिक्षा मात्र होइन, जीवन नै बदल्न सक्छ। एक, दुई र तिन घण्टाको लगानी जीवनभर आम्दानीको स्रोत बन्न सक्ने उहाँले बताउनुभयो।

राजपुर गाउँपालिकाका शिक्षा शाखा अधिकृत केशव लम्सालले तालिमका उद्देश्यहरू र कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बालविकास तथा पेशागत शिक्षकहरूका लागि ५ दिन र आधारभूत तह(कक्षा ६, ७ र ८) विषयगत प्रश्नपत्र निर्माण कार्यशालाका लागि २ दिनको तालिम सञ्चालन हुने जानकारी दिनुभयो। यस तालिमले शिक्षकको व्यवहार, दृष्टिकोण र कार्यशैलीमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

तालिम राजपुर गाउँपालिकाको सभाहल र साधारण नमुना माध्यमिक विद्यालय, सालभौरीकाे हल गरी दुई ठाउँमा सञ्चालन भइरहेको छ भने प्रशिक्षकको रूपमा किशोर प्रसाद खनाल र सुधा खनालकाे टिम रहनुभएकोे छ।

Facebook Comments