• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एयर इन्डियाको विमान ३० सेकेन्डमै दुर्घटनाग्रस्त हुनुको कारण के हुन सक्थ्यो ?




एआई१७१ नम्बरको उडान बिहीबार दिउँसो अहमदाबाददेखि लन्डन ग्याटविकसम्मको मार्गमा के भयो भन्ने कुरा विस्तृत अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ। तर, उडानपछिका केही क्षणहरू हवाइ उडानमा सबैभन्दा चुनौतीपूर्ण मानिन्छन्।

भारतीय अनुसन्धान टोलीलाई छिट्टै अमेरिकाका साथै बेलायतका विज्ञहरूले पनि साथ दिनेछन्, जसको उद्देश्य सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट उडेको करिब १ दशमलव ५ किलोमिटर (०.९ माइल) परै दुर्घटना भएको बोइङ ७८७–८ ड्रीमलाइनर विमान किन खसेको हो भन्ने पत्ता लगाउनु हो।

यो घटना सन् २०११ मा व्यावसायिक सेवा सुरू भएयता ७८७–८ ड्रीमलाइनरमा भएको पहिलो घातक दुर्घटना हो। बिहीबारको उक्त दुर्घटनामा विमानमा सवार दुई सय एकचालीस जना र भूभागमा रहेका थप व्यक्तिहरूको मृत्यु भएको छ।

बीबीसीले भारतका अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट नियमित रूपमा ७८७–८ विमान उडाउने पाइलटहरू र विमान विशेषज्ञहरूसँग कुरा गरेको छ— केहीले नाम नखुलाउने सर्तमा— जसले यो विमान उडेको केही क्षणमै अहमदाबादको बस्तीमा ठोक्किनुको सम्भावित कारणबारे प्रकाश पारेका छन्।

उचाइ लिन संघर्ष

७८७–८ ड्रीमलाइनर विमान क्याप्टेन सुमित सभरवाल र उनका सह–पाइलट क्लाइभ कुन्डारले उडाएका थिए। दुबै अत्यन्त अनुभवी थिए र संयुक्त रूपमा नौ हजारभन्दा बढी घण्टाको उडान अनुभव राख्थे। सभरवालले मात्रै व्यावसायिक उडानमा २२ वर्षभन्दा बढी अनुभव कमाएका थिए।

बिहीबार दिउँसो अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान करिब दुई सय बयालीस यात्रु लिएर उड्न तयारी गर्दै थियो। विमानस्थलको समय अनुसार दिउँसो १:३९ बजे (०८:०९ GMT) विमानले उडान भरेको एयर इन्डियाले जनाएको छ।

भारतका गृहमन्त्री अमित शाहका अनुसार विमानले करिब एक सय टन इन्धन बोकिरहेको थियो, जुन लगभग पूर्ण लोड नै हो, र उडानपछि उचाइ लिँदै थियो।

उडान गरेलगत्तै विमानको ककपिटबाट ‘मे–डे’ (आपतकालीन सहायता) कल आएको भारतको उड्डयन नियामक निकायले जनाएको छ। त्यसपछि विमानबाट कुनै प्रतिक्रिया आएको थिएन। उक्त ‘मे–डे’ कल किन गरिएको हो भन्ने अझै स्पष्ट छैन। तर, उक्त उडानका एक मात्र जीवित यात्रुले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानले उचाइ लिन संघर्ष गरिरहँदा उनले ठूलो आवाजको विस्फोट सुनेका थिए।

BBC Verify द्वारा प्रमाणीकरण गरिएको फुटेजमा विमान एक आवासीय क्षेत्रमाथि निकै तल उडिरहेको देखिन्छ। अन्तिम पठाइएको डाटाका अनुसार विमानको उचाइ ६२५ फिट (१९० मिटर) पुगेको थियो। त्यसपछि विमान तल झर्दै जान्छ र रुख तथा भवनहरूले ओझेल पार्छन्। त्यसपछि क्षितिजमा ठूलो विस्फोट देखिन्छ।
“यदि दुवै इन्जिन फेल भएको हो भने, उनकाे प्रतिक्रिया जनाउने समय नै हुँदैनथ्यो,” एक पाइलटले भने। BBC Verify ले हेरेको सिसिटिभी फुटेजअनुसार विमान ३० सेकेन्डजति मात्र आकाशमा उडेको थियो।

विमान एक घना बस्तीमा खसेको थियो, जहाँका तस्बिरहरूमा आवासीय भवनहरू गम्भीर रूपमा क्षतिग्रस्त देखिन्छन्। ती क्षेत्रमा अस्पताल र सरकारी कार्यालयहरू पनि रहेका थिए।

‘निकै दुर्लभ’ इन्जिन फेलको अड्कलबाजी
विमानको छोटो उडानको भिडियो मात्रका आधारमा दुर्घटनाको निश्चित कारण ठम्याउन प्रायः असम्भव छ।

आउँदा दिनहरूमा विमानको ब्ल्याक बक्स (फ्लाइट डाटा रेकर्डर) र मलबाको विस्तृत परीक्षणसहितको जटिल अनुसन्धान सुरु हुनेछ। तर हालसम्म सार्वजनिक भएका भिडियोहरूले विमानलाई जमिनबाट उठ्न संघर्ष गरिरहेको देखाउँछन्—जसले thrust वा power नपुगेको संकेत दिन्छ।

केही विशेषज्ञहरूले “निकै दुर्लभ” दोहोरो इन्जिन फेल भएको हुनसक्ने सम्भावनाबारे अड्कल गरेका छन्। साथै, विमानमा Ram Air Turbine (RAT) सक्रिय गरिएको थियो कि थिएन भन्ने प्रश्न पनि उठेको छ। RAT आपतकालीन अवस्थामा प्रयोग हुने पंखा प्रणाली हो, जुन मुख्य इन्जिनहरूले आवश्यकीय प्रणालीहरूलाई शक्ति दिन नसक्ने अवस्थामा स्वचालित रूपमा सक्रिय हुन्छ।
दुई इन्जिन एकैपटक फेल हुनु निकै दुर्लभ मानिन्छ। यसको सबैभन्दा प्रसिद्ध उदाहरण सन् २००९ मा भएको “मिराकल अन द हडसन” हो, जब यूएस एयरवेजको एयरबस ए३२० न्यूयोर्कको ला गार्डिया विमानस्थलबाट उडेपछि चरा ठोक्किएर दुवै इन्जिन बन्द भए। तर पाइलटले विमानलाई हडसन नदीमा सुरक्षित अवतरण गराएका थिए।

एक वरिष्ठ पाइलटले बीबीसीलाई भने अनुसार, इन्धनको दूषितता वा पाइपलाइन जाम हुँदा पनि दोहोरो इन्जिन फेल हुनसक्छ। विमानका इन्जिनहरूले अत्यन्त सटीक इन्धन मापन प्रणालीमा भर पर्छन्— यदि त्यो प्रणाली जाम भयो भने इन्धन आपूर्ति बन्द भई इन्जिन बन्द हुन सक्छ।

पूर्व पाइलट मार्को चानले BBC Verify लाई उपलब्ध भिडियोका आधारमा हालसम्म दोहोरो इन्जिन फेल भएको कुनै प्रमाण नभएको बताए।

विमान विज्ञ मोहन रंगनाथनले बीबीसीलाई भने, “दुई इन्जिन एकैचोटि फेल हुनु अत्यन्तै दुर्लभ घटना हो।”

इन्जिन निर्माण कम्पनी GE Aerospace ले अनुसन्धानमा सहयोग गर्न आफ्ना विज्ञहरूको टोली भारत पठाइरहेको जानकारी दिएको छ। यता बोइङ कम्पनीले पनि एयर इन्डियालाई पूर्ण सहयोग गर्ने बताएको छ।
चरा ठोक्किने जोखिम

भारतका केही विज्ञहरूले यो दुर्घटनाको अर्को सम्भावित कारण चरा ठोक्किनु हुनसक्ने बताएका छन्।

जब विमान उड्दो क्रममा चरासँग ठोक्किन्छ, यस्तो घटना जहाजका लागि अत्यन्त खतरनाक हुनसक्छ। गम्भीर अवस्थामा, चरा इन्जिनभित्र पस्यो भने इन्जिनले शक्ति गुमाउन सक्छ—जस्तै सन् २०२३ मा दक्षिण कोरियाको जेजू एयर दुर्घटनामा भयो, जसमा एक सय उनान्साठी जना मानिसको ज्यान गएको थियो।

अहमदाबाद विमानस्थल चिनेका विज्ञ तथा पाइलटहरूले बीबीसीलाई यस विमानस्थल “चराका लागि कुख्यात” भएको बताएका छन्।

“त्यहाँ सधैँ चराहरूको उपस्थिती हुन्छ,” विमान विज्ञ मोहन रंगनाथनले बताए। कम्तीमा तीनजना भारतीय पाइलटहरूले पनि बीबीसीलाई यही कुरा पुष्टि गरेका छन्, जसले नियमित रूपमा उक्त विमानस्थलमा उडान गरेका छन्।

गुजरात राज्य, जहाँ अहमदाबाद पर्छ, त्यहाँ पाँच वर्षमा चार सय बयासी वटा चरा ठोक्किने घटना भएको तथ्याङ्क नागरिक उड्डयन मन्त्रालयले सन् २०२३ को डिसेम्बरमा संसदमा पेश गरेको थियो। तीमध्ये धेरैजसो अहमदाबाद विमानस्थलमा भएका थिए।

टाइम्स अफ इन्डिया को सेप्टेम्बर २०२३ को रिपोर्टअनुसार सन् २०२२–२३ मा अहमदाबाद विमानस्थलमा ३८ वटा चरा ठोक्किने घटना भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले वृद्धि हो।

सन् २००९ मा अमेरिकी विमानमा २,७०० फिट उचाइमा चरा ठोक्किएको थियो— जुन हालको एयर इन्डिया दुर्घटनाको उचाइभन्दा चार गुणा बढी हो। तर यसपटक भारतीय पाइलटसँग न त पर्याप्त उचाइ थियो, न पर्याप्त समय, सुरक्षित अवतरणका लागि।

यद्यपि, एक वरिष्ठ पाइलटले भने, “चरा ठोक्किनु सामान्यतः गम्भीर हुँदैन, जबसम्म दुबै इन्जिनमा एकैपटक असर पर्दैन।”
स्रोतः बिबिसी

Facebook Comments