दाङ । बढ्दो गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई लोभ्याउने ठाउँ हो—बंगलाचुली पार्क। बंगलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सिमाना क्षेत्रमा पर्ने यो पार्क पछिल्लो समय सबैको रोजाइमा पर्न थालेको छ। घोराही बजारदेखि पूर्व–उत्तरमा अवस्थित बंगलाचुली पार्क पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ।
पार्क क्षेत्रको हरियाली प्राकृतिक सुन्दरतासँगै दृश्यावलोकनका लागि निर्माण गरिएको भिउटावर, विभिन्न पार्क संरचनाहरूले आगन्तुकहरूको ध्यान खिचिरहेको छ। करिब २८ हजार ५६० वर्ग मिटर क्षेत्रफलमा फैलिएको पार्क निर्माणका लागि बंगलाचुली र माण्डवी गाउँपालिकाले सहकार्य गरेका छन्।
कुनै समय गौ चरिचरनको रूपमा रहेको ुठुलीपहाडु अहिले पर्यटकीय केन्द्रको रूपमा रुपान्तरण भएको छ। बंगलाचुली गाउँपालिका–५ मुकुर्टी निवासी सीमा पुनका अनुसार, संरक्षण र पूर्वाधार विकाससँगै अहिले यो स्थान घुमफिर तथा वनभोजका लागि स्थानीयहरूका लागि मनपर्ने गन्तव्य बनेको छ।
पछिल्लो पाँच वर्षको अवधिमा बंगलाचुली र माण्डवी गाउँपालिकासँगै प्रदेश र संघीय सरकारबाट करिब पाँच करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीका अनुसार, संघीय सरकारको तर्फबाट मात्र एक करोड रुपैयाँको लगानीमा पर्खाल र प्रवेशद्वार निर्माण भइरहेको छ। पार्क क्षेत्रमा भिउटावर, पिक्निक घर, प्रतीक्षालय, कार्यक्रम स्थल, टायल विछ्याइएको पदमार्ग र सोलार बत्तीको जडान गरिएको छ।
०७७/०७८ सालदेखि निर्माण कार्य अघि बढाइएको यस पार्कमा यो वर्ष प्रतिनिधिसभा सदस्य रेखा शर्माको पहलमा एक करोड रुपैयाँको बजेटबाट बंगलाचुली पक्षको प्रवेशद्वार निर्माण भइरहेको छ।
यसका अतिरिक्त, तत्कालीन डिभिजन वन कार्यालयबाट ५० लाख, बंगलाचुली गाउँपालिकाबाट ४३ लाख लगानी गरिएको छ। माण्डवी गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा प्रवेशद्वार, पार्क, मन्दिरलगायत संरचना निर्माणका लागि झन्डै दुई करोड ५७ लाख रुपैयाँ लगानी गरिसकेको उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी बताउँछन्।
दुई पालिकाको सहकार्यले ठुली पहाडलाई आकर्षक पर्यटकीय स्थलमा रूपान्तरण गर्न सहयोग पुगेको छ। उपाध्यक्ष कालाथोकीका अनुसार, अहिले दाङ, प्युठान र रोल्पाबाट पनि पर्यटकहरू पार्कमा घुमफिर तथा पिक्निकका लागि आउन थालेका छन्।
तर, पार्क क्षेत्रमा पुग्न सहज बाटो नहुनु एक प्रमुख समस्या बनेको छ। वर्षायाममा मुर्कुटीबाट पार्कसम्म पुग्न कठिनाइ हुने भएकाले स्थानीय सरकारले उक्त समस्यालाई सम्बोधन गर्न आवश्यक रहेको स्थानीय टेकबहादुर वली बताउँछन्। अहिलेसम्म प्रवेश शुल्क नलिइएको भए पनि संरचना पूर्ण भएपछि शुल्क निर्धारण गरेर व्यवस्थित सेवा दिने योजना रहेको पनि पालिकाले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।