तेजविर वि.सी
काठमाडौँ। रसुवा–नुवाकोट पर्यटन समाज र बागमती प्रदेश सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा लाङटाङ हिमालयन क्षेत्रमा आयोजित ३२ किलोमिटर साहसिक म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।
शनिबार बिहान सुरु भएको प्रतियोगिता लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने गोसाइकुण्ड गाउँपालिका–५ स्थित क्यान्जिङ गुम्बा क्षेत्रबाट शुरु भएको थियो। प्रतियोगितामा पुरुषतर्फ मिलन कुलुङले प्रथम स्थान हासिल गर्दै नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
पुरुषतर्फको नतिजाअनुसार विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो, कृष्ण सिंह बोगटी चौथो तथा गोपाल तामाङ पाँचौँ स्थानमा रहे। महिलातर्फ सुनसरी रोकाया प्रथम, लाक्पा निमा शेर्पा दोस्रो, निर्मला राई तेस्रो, आङ पूर्वा शेर्पा चौथो र प्रिया राई पाँचौँ स्थानमा परे।
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोस्रोले पचहत्तर हजार, तेस्रोले पचास हजार, चौथोले पच्चीस हजार र पाँचौँ हुनेले पन्ध्र हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा जम्मा ६७ जना धावकहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको अवसरमा लुम्बिनी सञ्चार प्रतिष्ठानका १६ जना जनताको पत्रकार टोलीले लाङटाङ, क्यान्जिङ गुम्बा लगायत विभिन्न पर्यटकीय स्थलहरूको अवलोकनसमेत गरेका थिए।
रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार लाङटाङ हिमालयन क्षेत्रमा साहसिक खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आगामी दिनमा पर्यटन प्रवर्द्धनमा यसले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।