हेमन्त पोख्रेल
घोराही । हाम्रो शिक्षा प्रणालीले अहिले एउटा छुट्टै मोड लिएको छ। जहाँ विश्वभर डिजिटल साक्षरतालाई प्राथमिकतामा राखिएको छ, हामी भने कम्प्युटर विज्ञानलाई पाठ्यक्रमबाट झिक्न लागेका छौं। यो निर्णयले हाम्रा विद्यार्थीहरूलाई २१औं शताब्दीको दौडमा नै पछाडि पार्नेछ।
स्थानीय ज्ञानको महत्त्वलाई अस्वीकार गर्न खोज्दैन। तर यसको नाममा कम्प्युटर जस्तो आधारभूत विषय हटाउनु भनेको घरको ढोका बन्द गरेर बत्ती बाल्नेजस्तो हो। पहिले ‘क’ नपढेकालाई अशिक्षित भनिन्थ्यो भने आजको संसारमा चाहिँ कम्प्युटर नजान्ने मानिस अधूरा शिक्षित मानिन्छ।
यसको प्रभाव के हुनेछ? हाम्रा बच्चाहरू स्थानीय संस्कृति त जान्नेछन्, तर विश्वसंगतिको लागि आवश्यक डिजिटल सिपबाट वञ्चित हुनेछन्। यो उनीहरूको रोजगारी, उद्यमिता र अन्तर्राष्ट्रिय अवसरहरूमा ठूलो बाधक बनेर आउनेछ।
विकल्पको कमी छैन्। किन एकलाई बलि चढाएर अर्कोलाई बचाउने? स्थानीय विषय र कम्प्युटर दुबैलाई समानताका साथ पाठ्यक्रममा स्थान दिन सकिन्छ। यस्तो गर्न नसक्नु भनेको शिक्षा नीति निर्माताहरूको दूरदर्शिताको अभाव हो।
यो समय सचेत हुने जस्तो लाग्छ मलाई । हामीले हाम्रा युवाहरूलाई परम्परा र आधुनिकताको दुवै ज्ञान दिनुपर्छ। कम्प्युटर हटाउने निर्णय फिर्ता लिइएकै राम्रो हो कि ? नत्र हामी एक पुस्तालाई अँध्यारोमा धकेल्ने दोषी हुनेछौं।
(लेखक : हेमन्त पोख्रेल शिक्षक हुनुहुन्छ)

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।