• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सम्बन्धी अभिमुखीकरण सुरु




तुलबहादुर कवँर मगर
मसुरिया। दाङको राप्ती गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

गाउँपालिकाको आयोजना एवम् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौँको प्राविधिक सहयोगमा बिहीबारदेखि उक्त कार्यक्रम सुरु भएको हो।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले व्यक्तिगत घटना दर्ताका क्रममा देखिने व्यावहारिक समस्याको समाधान, जनप्रतिनिधि तथा कर्मचारीबीचको समझदारीमा एकरूपता ल्याउने र सेवाग्राहीमैत्री कार्यपद्धति विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले सबै वडामा नागरिकले सहज र प्रभावकारी सेवा पाउन सकून् भन्ने लक्ष्यले अभ्यासमुखी यस्ता कार्यक्रमहरू आवश्यक रहेको धारणा राख्नुभयो। “यस्ता कार्यक्रम केही वर्षअघि नै गर्नुपर्ने थियो, तर विविध कारणले ढिलाइ भयो। ढिलै भए पनि कार्यक्रम सुरु भएको छ। यसले सेवा प्रवाह सहज र प्रभावकारी बनाउने छ,” उपाध्यक्ष चौधरीले भन्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय सरकारको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जनप्रतिनिधि तथा कर्मचारीबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले अभिमुखीकरणबाट कानुनी तथा प्राविधिक पक्षमा सहभागीहरूले आवश्यक ज्ञान हासिल गरी सेवा प्रवाहमा गुणस्तर वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रशिक्षण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकृत राजीव राईले गर्नुभएको छ। उहाँले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ, नाम, थर र लिङ्ग परिवर्तनसम्बन्धी कानुनी व्यवस्था, डेटा प्रशोधन प्रक्रिया, घटनादर्ता प्रणालीको अपरेटिङ प्रोटोकल, सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली, गुनासो व्यवस्थापन तथा व्यवहारमा देखिने समस्याबारे प्रशिक्षण दिइरहनुभएको छ।

कार्यक्रमको समन्वय पञ्जीकरण शाखा प्रमुख नारायण राउतले गर्नुभएको हो। उहाँले सहभागीहरूलाई अभ्याससहितको व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, वडा सचिवलगायतहरूको सहभागिता रहेको छ।

Facebook Comments