• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीको छेवैमा काकाकुल वस्ती




खेमराज न्यौपाने
दाङ। दाङको सदरमुकाम घोराही उपमहानगरपालिकाको मुटुमा पर्ने घोराही–१८ स्थित जोगी डाँडा अहिले पनि खानेपानीको चरम अभावसँग जुधिरहेको छ। शहरको छेउमै बसेको यो बस्तीका करिब ४५ घरधुरी दैनिक एक घुट्को पानीका लागि समेत काकाकुल छन्।

स्थानीय अर्जुन बुढाका अनुसार, दैनिकी चलाउन बिहान ४ बजे उठेर करिब दुई घण्टा पैदल हिँडेर कटुवा खोलासम्म जानुपर्ने बाध्यता छ। “त्यो खोलाको पानी सुरक्षित छैन, तर विकल्प नभएकाले त्यही पिउन बाध्य छौं,” उनले गुनासो गरे।

यो समस्या एक व्यक्तिको मात्रै होइन, सम्पूर्ण समुदायको साझा पीडा हो। वर्षौंदेखि समाधानको आशामा सम्बन्धित निकायसँग गुहार गर्दा पनि कुनै ठोस सुनुवाइ भएको छैन।

वडासदस्य टीका थापा भन्छन्, “खानेपानीका लागि लिफ्ट सिँचाइ आयोजना सम्पन्न भइसकेको हो, तर पम्प बिग्रिएपछि पानी तान्न सकिएको छैन। अहिले मर्मत र व्यवस्थापनका लागि पहल भइरहेको छ।” तर, स्थानीयहरू यो समस्या प्रविधिको मात्रै नभई सरकारी उपेक्षा र बेवास्ताको परिणाम भएको ठान्छन्।

समाजसेवी सुरेस बुढा भन्छन्, “शहरको शिरमै बसेर पनि प्यास मेट्न नसक्नु राज्य सेवाबाट वञ्चित गरिएको जस्तो हो।” उनका अनुसार, पानीको माग गर्दै पटक–पटक सम्बन्धित कार्यालयमा धाउँदा पनि कसैले वास्ता नगरेको हो। स्थानीय एक महिलाको पानी ल्याउने क्रममा लडेर हात भाँचिएको घटना अझै पनि समुदायको स्मृतिमा छ।

स्थानीयहरू भन्छन्, “हामीले सडक वा बिजुली होइन, केवल पानी माग गरेका हौं। त्यो पनि दिन नसक्ने हो भने नागरिक अधिकारको अर्थ के रह्यो?”

हाल लिफ्ट योजना निर्माण भइसके पनि आवश्यक व्यवस्थापनको अभावमा बर्सेनि वर्षा र जाडोको मौसममा समेत जोगी डाँडाका बासिन्दा टाढाबाट असुरक्षित पानी बोकेर ल्याउन बाध्य छन्।

Facebook Comments