खगेश्वर भण्डारी
जिन्दगी मेसिन हो,
मेसिनजस्तै बन्छ।
घुमाइन्छ फन्फनी,
चलाइन्छ जतिसक्दो
धेरै भन्दा धेरै प्रयोग हुन्छ—
मनदेखि मस्तिष्कसम्म,
आशादेखि अस्तित्वसम्म।
मालिककै इसाराको,
मालिककै प्रयोगशालाको
चौतारो बन्छ।
जति चल्न सक्यो,
उति नै मालिकको प्यारो बन्छ।
मन जति जल्न सक्यो,
मालिकको मन त्यत्तिकै उज्यालो हुन्छ।
चल्दा–चल्दै खिइन्छ,
कुद्दा–कुद्दै रगडिन्छ,
बुढो हुन्छ, थात्रो हुन्छ,
रस रित्तिएको छोक्रो हुन्छ।
प्वाल परेको भाँडो जस्तो,
प्रयोग गरिसकेपछि खाल्डो जस्तो।
“आहा! मेरो मेसिन!” भन्ने मेसिन मालिक
“छि! मेरो मेसिन…” भन्न थाल्छ।
र अन्त्यमा
मेसिन नै फाल्छ,
पुरानाको ठाउँमा
नयाँ हाल्छ।
यहीँ चक्र चलाउँदै एउटा मालिक
कामदार पाल्छ,
मजदुरको पसिना खसाल्न लगाउँछ।
जब पसिना सुक्न थाल्छ,
ताकतहीन, शक्तिहीन—
पसिना ननिस्कने
बुढो, थात्रो शरीर
मालिकलाई खाल्डो बन्छ।
कहाँ पन्छाउँ, कहाँ मिल्काउँ?
विकल्प खोजिन्छ।
र अन्ततः—
पन्छाइन्छ, मिल्काइन्छ।
यस्तै छ
कामदारको जिन्दगी—
मेसिनको जिन्दगी।
मेसिनको जिन्दगी—
न थकाइ मार्न पाउँछ,
न दुःख बाँड्न पाउँछ।
मेसिन आफै चल्नु हुँदैन—चलाइनुपर्छ।
मेसिन आफै कुद्नु हुँदैन—कुदाइनुपर्छ।
मेसिन आफै नाच्नु हुँदैन—नचाइनुपर्छ।
मेसिन आफै बाँच्नु हुँदैन—बाँचाइनुपर्छ।
मेसिन आफै हाँस्नु हुँदैन—हाँसाइनुपर्छ।
मेसिन आफै थाक्नु हुँदैन—थकाइनुपर्छ।
जब मेसिन बुढो हुन्छ—मिल्काइन्छ।
यस्तै छ
मजदुरको जिन्दगी—
मेसिनको जिन्दगी।
—
मिति: २०८१/०१/१८

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
