घोराही। दाङको घोराही बजारमा कुहिएको अण्डा बिक्री गर्दै हिँडेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। खानका लागि अयोग्य रहेका अण्डा सस्तो मूल्यमा माइकिङ गर्दै बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिलाई नियन्त्रणमा लिई पाँच पेटी अण्डा जफत गरिएको हो।
सप्लायर्सबाट ल्याइएको बिग्रिएको अण्डा बजारमा बिक्री गर्दै गरेको अवस्थामा उनलाई दुई घण्टा नियन्त्रणमा राखी अण्डा जफत गरिएको नेपाल लेयर्स कुखुरा पालक संघ दाङका सदस्य हरपल केसीले जानकारी दिनुभयो।
पहिलोपटकको घटना भएकाले आगामी दिनमा यस्ता कार्य नगर्ने प्रतिबद्धतासहित ती व्यक्तिलाई छाडिएको केसीले बताउनुभयो। उहाँले यस्ता गतिविधिले अण्डा उत्पादक तथा व्यवसायीलाई समेत बदनाम गराउने भएकाले सचेत रहन आग्रह गर्नुभयो।
नेपाल लेयर्स कुखुरा पालक संघ दाङले नागरिकको स्वास्थ्यसँग सम्बन्धित यस्ता घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै यस्ता गतिविधि कतै देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
संघका अनुसार ती व्यक्तिले केही दिनदेखि घोराही बजार क्षेत्रमा माइकिङ गर्दै सस्तो मूल्यमा बिग्रिएको अण्डा बिक्री गर्दै आएको पाइयो।
दाङमा हाल दैनिक करीब १७ सय पेटी अण्डा उत्पादन हुँदै आएको संघले जनाएको छ। संघले अण्डाको आकारअनुसार प्रति क्यारेट ४५० देखि ५०० रुपैयाँसम्ममा कारोबार गर्दै आएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।