• १७ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्वव्यापी इन्टरनेट विस्तार गर्न अमेजनबाट २७ इन्टरनेट स्याटेलाइट प्रक्षेपण




विश्वका दोस्रो धनाढ्य जेफ बेजसको कम्पनी अमेजनले आफ्नो महत्वाकांक्षी ‘प्रोजेक्ट कुइपर’ अन्तर्गत पहिलो चरणमा २७ वटा इन्टरनेट भूउपग्रहहरू प्रक्षेपण गरेको छ । योसँगै अमेजनले विश्वव्यापी द्रुतगतिको इन्टरनेट सेवा विस्तार गर्ने महत्वाकांक्षी लक्ष्यको औपचारिक सुरूवात गरेको छ । फ्लोरिडाको केप केनाभेरल स्पेस फोर्स स्टेसनबाट एटलस भी रकेट प्रयोग गरेर ती भूउपग्रहहरू पृथ्वीको तल्लो कक्षमा पठाइएका छन् ।

अमेजनले कुल ३२ सयभन्दा बढी भूउपग्रहहरू प्रक्षेपण गर्ने र सन् २०२६ सम्ममा ती सबैलाई पृथ्वीको कक्षमा ६०० किमीभन्दा माथिबाट परिक्रमा गराउने योजना बनाएको छ । बेजसले हालै आफ्नी प्रेमिकासहित ६ जना महिला सेलेब्रिटीलाई ११ मिनेट लामो अन्तरिक्ष यात्रामा पठाएर चर्चा र आलोचना दुवै कमाएका थिए । उनकै कम्पनी अमेजनले भूउपग्रहमा आधारित ब्रोडब्यान्ड सेवा विस्तार परियोजनामा १० अर्ब अमेरिकी डलरको लगानी प्रतिबद्धता जनाएको रोयटर्सले उल्लेख गरेको छ ।

स्याटलाइट इन्टरनेट बजार यस दशकको अन्त्यसम्म १९ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान गरिएका बेला अमेजनले यो परियोजनामार्फत अर्का धनाढ्य इलन मस्कको कम्पनी स्पेसएक्स र स्टारलिंकसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । स्पेसएक्सले हालसम्म झन्डै ७२ सयभन्दा बढी भूउपग्रह प्रक्षेपण गरिसकेको छ भने भविष्यमा ४२ हजार उपग्रह जडान गर्ने योजना सार्वजनिक गरेको छ । यस्तै, वानवेब र टेलिस्याटजस्ता कम्पनीहरू पनि स्याटेलाइट इन्टरनेट क्षेत्रमा आफ्नो बजार बढाउने ध्याउन्नमा देखिन्छन् । चीनले अमेजन प्रक्षेपणको केही घन्टापछि नै आफ्नै स्याटेलाइट इन्टरनेटसँग सम्बन्धित थप भूउपग्रहहरूको प्रक्षेपण सम्पन्न गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

विश्वभर आफ्नो व्यावसायिक र प्राविधिकका साथै क्लाउड सेवासम्बन्धी विशाल पूर्वाधार भएको अमेजनले अन्तरिक्षका अन्य क्षेत्रमा पनि मस्क र स्टारलिंकलाई टक्कर दिन खोजिरहेको छ । २७ वटा उपग्रहहरूको सफल प्रक्षेपणमा अमेजनका प्रमुख बेजसले उत्साह व्यक्त गर्दै आफ्नो कम्पनी द्रुत गतिको र भरपर्दो स्याटेलाइट इन्टरनेट सेवा दिन प्रतिबद्ध रहेको उल्लेख गरे । ‘यो प्रोजेक्ट कुइपर र अमेजनका लागि महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भनेका छन्, ‘हामी आफ्ना उन्नत प्रविधिमार्फत विश्वभरिका इन्टरनेट पहुँच नपुगेका स्थानमा पुग्ने प्रयत्नमा छौं ।’

अमेजनले बेजसकै कम्पनी ब्लु ओरिजिन र मस्कको स्पेसएक्ससँगै फ्रान्सेली कम्पनीसँग समेत यी भूउपग्रहहरूलाई २ वर्षभित्रै पृथ्वीको कक्षमा पुर्‍याइसक्ने सम्झौता गरेको छ ।

Facebook Comments