दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ मा रहेको बयलडाँडा चौतारी क्लबले सन् २०८० सालदेखि सञ्चालनमा ल्याएको मर्निङ वाक कार्यक्रम स्वास्थ्य सुधारसँगै सामाजिक जागरण र पर्यावरण संरक्षणको अभियानका रूपमा स्थापित हुँदै गएको छ।
हरेक बिहान ५ बजे ट्राफिक चोकबाट सुरु हुने मर्निङ वाक क्लबको मुख्य परिचय बन्दै गएको छ। दैनिक १०० देखि ५०० जना सम्म सहभागी हुने यो अभियान घोराही–१८ स्थित वन क्षेत्रमा क्लबले निर्माण गरेको व्यायामस्थलमा पुगेर टुंगिन्छ। यहाँ विभिन्न किसिमका व्यायाम सामग्रीहरूको व्यवस्था गरिएको छ, जुन क्लबकै पहलमा निर्माण गरिएको हो। उल्लेखनीय कुरा के छ भने, क्लबले १७ सय मिटर टाढाबाट पानीको व्यवस्था समेत सफलतापूर्वक गरेको छ।
क्लबका अध्यक्ष नारायण प्रसाद भुसाल भन्छन्, “हामीले यो अभियान सुरु गर्दा धेरैलाई लाग्यो, केही समयमै थाँती पर्छ। तर आज यो दाङकै एक नियमित र महत्वपूर्ण स्वास्थ्य अभियान बनेको छ। हामी प्रकृति, समाज र स्वास्थ्यलाई एउटै धागोले बाँधेर अगाडि बढिरहेका छौं।”
कार्यक्रम संयोजक ईश्वर बस्नेतका अनुसार यो अभियान केवल व्यायामसम्म सीमित छैन। “हामी हरेक दिन बिहान देखिने मुस्कान, पसिना र प्रकृतिप्रतिको सम्मानलाई साँचो सफलताका रूपमा लिन्छौं। हाम्रो लक्ष्य दाङलाई स्वस्थ, सचेत र स्वाभिमानी बनाउनु हो,” बस्नेतले बताए।
क्लबले हरेक शनिबार दाङका प्रमुख पर्यटकीय स्थलहरूको समूहमा हिँडुलो भ्रमण गराउँदै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँदै आएको छ। साथै, मनोरञ्जनात्मक प्रतियोगिता र वातावरणीय जनचेतना कार्यक्रमहरू पनि क्लबको नियमित कार्यसूचीमा पर्छन्।
“वन वातावरण जोगाऔँ, प्रकृति संरक्षण गरौँ” भन्ने नाराका साथ अघि बढिरहेको क्लबले दाङमा एक सकारात्मक र अनुकरणीय अभ्यासको उदाहरण प्रस्तुत गरेको छ।

फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।

