घोराही । १३ वर्षकै उमेरमा घर छाडेर यातायात क्षेत्रमा लागेका घोराहीका लक्ष्मण श्रेष्ठ अहिले ४२ वर्षका भए। करिब तीन दशकको मेहनतपछि खलासीबाट गाडी मालिक बनेका श्रेष्ठ आज भने फेरि सडकमा आइपुगेका छन्। त्यो पनि आफ्नै श्रीमतीको विश्वासमा परेर।
श्रेष्ठले आइतवार घोराहीमा पत्रकार सम्मेलन गर्दै आफ्नो जीवनमा घटेको पीडादायी घटनाबारे जानकारी गराएका हुन्। उनले श्रीमती निर्मला डाँगीसँग १८ वर्षअघि प्रेम विवाह गरेका थिए। दुई सन्तानका बाबु श्रेष्ठको अहिले श्रीमतीसँग कानुनी रूपमा सम्बन्धविच्छेद भइसकेको छ, तर आफूलाई भने त्यो बारे नौ महिनासम्म कुनै जानकारी नभएको बताए।
घर श्रीमतीको बुबाको नाममा, सम्बन्धविच्छेद अदालतको निर्णयमा
श्रेष्ठका अनुसार उनले कमाएको सबै सम्पत्ति श्रीमतीकै सल्लाहअनुसार व्यवस्थापन भएको थियो। “घरको जग्गा श्रीमतीका बुबाको नाममा राखिएको थियो। घडेरीदेखि घर निर्माणसम्म श्रीमतीकै सल्लाहमा सबै गरियो,” उनले भने।
उनले केही वर्षअघि अटोभिलेजको पश्चिममा ढाई तले घर बनाएका थिए। श्रीमतीका परिवार र सालोले अमेरिका जान सहयोग गरेको भन्दै त्यो बेला पनि नजिकको सम्बन्ध थियो। तर, दुई वर्षयता श्रीमती र आफूबीच सम्बन्ध चिसिंदै गएको बताए।
“डिभोर्स भइसकेको मलाई थाहा नै थिएन,” उनले भने, “वैशाख ३ गते श्रीमतीले मलाई ४० लाखको चेक चोरेको आरोपमा प्रहरीमा उजुरी दिएपछि मात्रै मलाई सबै कुरा थाहा भयो।”
विश्वासकै कारण सबै गुमेँ
श्रेष्ठले श्रीमतीको विश्वासले जीवन बनाएको तर अहिले त्यही विश्वासले सबै गुमेको बताए। “सबै कुरा उहाँकै जिम्मा लगाएको थिएँ, आज म न घरको मालिक छु, न गाडीको। श्रीमतीसँगको विश्वासले जीवन बन्यो, त्यही विश्वासले अहिले सडकमा ल्याइपुर्यायो,” उनले भावुक हुँदै भने।
उनी हाल केही दिनदेखि घर विहीन बनेका छन्। आफ्नो जस्तो पीडा अरू कसैले नपरोस् भन्ने उद्देश्यले पत्रकार सम्मेलन गरेको उनले जनाए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
