दाङ। वैदेशिक रोजगारीबाट फर्केर गाउँमै केही गर्ने अठोट बोकेका घोराही उपमहानगरपालिका–१३, सेवारी निवासी खिम बहादुर थापा मगरले घोराही–१३ बासकोटमा ‘मगर संग्रहालय’ नयाँ वर्ष २०८२ को अवसर पारेर बैशाख १ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।
झण्डै एक दशक जापानमा बिताएका थापा मगरले गाउँ फर्किएपछि स्थानीय स्रोतसाधन, संस्कृति र पर्यटक आकर्षणलाई मध्यनजर गर्दै ८ कठ्ठा जग्गामा करिब १ करोड ६० लाखको लगानीमा संग्रहालय स्थापना गरेका हुन्। हाल संग्रहालयमा १६ जना स्थानीयले रोजगारी पाएका छन्।
संग्रहालयमा मगर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका साग्री, लुगाफाटो, भाँडाकुँडा, गहना, औजार जस्ता सामग्रीहरूको सङ्ग्रह छ। साथै, स्केट पार्क, जि-लाइन, चिल्ड्रेन पार्क, मगर भान्सा घर, मगर पहिरन प्रदर्शनीसमेत संग्रहालयमा समावेश गरिएको छ।
‘जापान बस्दा आफ्नै संस्कृति र माटोको महत्व अझ बढी महसुस भयो,’ थापा मगरले भने, ‘त्यही भएर फर्किएर गाउँमै केही गरौं, स्थानीयलाई पनि रोजगारी दिऔं भन्ने सोचका साथ यो अभियान सुरु गरेको हुँ।’
मगर समुदायको मौलिक पहिचान, संस्कृति र जीवनशैलीको संरक्षणसँगै पर्यटक आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको यस संग्रहालयमा आन्तरिक पर्यटकको चाप पनि बढ्न थालेको छ।

फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।

