दाङ। नेपाल पत्रकार महासङ्घको कार्यकाल सकिएपछि महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल कला तथा साहित्यिक क्षेत्रमा फर्किएका छन्।
केही समय अघि गीत लेखनमा रहेका पोख्रेल महासंघ प्रवेश पश्चात् कला कर्मबाट टाढिएका थिए। तर महासङ्घको अध्यक्षको कार्यकाल पुरा भएपछि उनले कला तथा साहित्यिक क्षेत्रमा पुनरागमन गरेका हुन्।
यस क्रममा पोख्रेलले कविता सङ्ग्रह सार्वजनिक गरेका छन्। पोख्रेलद्वारा लिखित ‘बाको अनुहार’ नामक कविता सङ्ग्रह शनिबार दाङमा सार्वजनिक भयो। उक्त कृतिको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमोचन गरे।
कविता सङ्ग्रह विमोचन गर्दै महामन्त्री शर्माले साहित्य समाज परिवर्तनको ऐना रहेको भन्दै साहित्य मार्फत मुलुकलाई सही बाटोमा लैजान सकिने बताए।
‘कला साहित्यले मुलुकलाई सही बाटोमा लैजान सक्छ,’ महामन्त्री शर्माले भने ‘समाजमा रहेका नकारात्मक कुराहरूलाई कला र साहित्य मार्फत सच्याउन सकिने भएकाले समाज परिवर्तनका लागि कला साहित्य महत्त्वपूर्ण विधाका रुपमा रहन्छ।’
यसै गरी उनले पत्रकार महासङ्घको कार्यकाल पश्चात् पोख्रेलले थालेको साहित्यिक यात्राको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन समेत सुझाव दिए।
पोख्रेलले आफ्नो कविता सङ्ग्रहमा बाबुका बारेमा कविता कोरेका छन् भने छोरा प्रतिको आमाको प्रेम र चिन्तनलाई पनि समेटेका छन्।
यसै गरी यो कविता सङ्ग्रहमा देशभक्ति भाव ओतप्रोत कविताहरू पनि समेटिएका छन् भने माया प्रेमका भावलाई पनि पोख्रेलले कविता मार्फत उजागर गरेका छन्।
यसै गरी कविताका माध्यमबाट पोख्रेलले समाजको चित्रण समेत गर्न खोजेका छन्। पोख्रेलको कविता सङ्ग्रह माथि साहित्यकार डा. कृष्णराज डिसी र डा. टिकाराम उदासीले टिप्पणी गरेका थिए।
टिप्पणीकारद्धयले पोख्रेलको कविता सङ्ग्रहको व्याख्या गर्दै साहित्यिक लेखनको यात्रालाई निरन्तरता दिन सुझाव दिए। यो कविता सङ्ग्रहको सम्पादन आदिम केसीले गरेका छन्।
शनिबार कविता सङ्ग्रह सार्वजनिक गरेर आफ्नो साहित्यिक यात्रालाई प्रारम्भ गरेका पोख्रेल गीत लेखनको यात्रामा पनि छन्।
उनले महासङ्घको अध्यक्ष कार्यकाल सकिए पश्चात् दुई गीत सार्वजनिक गरिसकेका छन्। यसै गरी अन्य गीत सार्वजनिक गर्ने तयारीमा उनी छन्।
कला साहित्य आफ्नो औधी रुचीको विषय भएको भन्दै पोख्रेल भन्छन् ‘कला साहित्य मेरो रुचीको विषय हो, तथापि महासङ्घको यात्राका क्रममा म यो क्षेत्रबाट ओझेलमा पर्नुपर्यो, तथापि कला साहित्यको क्षेत्रमा म पुनः पुनरागमन भएको छु।’

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
