दाङ। दाङको राप्ती गाउँपालिका–४, सुन्दरपुरस्थित सिचाइ मुहानको बिहीबार निरीक्षण गरिएको छ।
सिचाइ योजना सञ्चालनको तयारीस्वरूप गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, कृषि शाखा प्रमुख बरसाती गडरिया, असिस्टेन्ट सब–इञ्जिनियर बिमला भट्टराई, कृषि प्राविधिक, उपभोक्ता लगायतको टोलीले उक्त स्थलको निरीक्षण गरेको हो।
हाल सिचाइको मूलमा बनाइएको संरचना भत्किएपछि कृषकहरूलाई सिचाइमा समस्या भइरहेको छ। उक्त समस्या समाधान गर्दै सिचाइ सुविधाको विस्तार गरी कृषकहरूलाई प्रभावकारी सिचाइ सेवामा पहुँच पुर्याउने लक्ष्य लिइएको जनाइएको छ।
निरीक्षणका क्रममा टोलीले मुहानको वर्तमान अवस्था अवलोकन गर्नुका साथै आवश्यक प्रविधि तथा पूर्वाधार विकासका विषयमा सुझावहरू संकलन गरेको छ
गाउँपालिका अध्यक्ष विष्टले सिचाइ योजनाको सफल कार्यान्वयनबाट कृषिमा उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, प्राविधिक टोलीले मुहानको क्षमता, प्रवाह दर र भौगोलिक अवस्थाबारे प्रारम्भिक अध्ययनसमेत गरेको छ।
उक्त सिचाइ योजनाले दीर्घकालीन रूपमा कृषकहरूलाई लाभ पुर्याउने र कृषि प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
