खुमबहादुर सुनार
लिवाङ । रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिकामा बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्ने उद्देश्यले आवश्यक कृषि सामाग्री वितरण गरिएको छ। साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको सहकार्यमा आयोजित उक्त वितरण कार्यक्रमले गाउँपालिकाभित्रका ७४ जना कृषकहरूलाई प्रत्यक्ष लाभ पुर्याएको छ। कार्यक्रम लुङ्ग्री गाउँपालिकाको बहुउद्देश्यीय भवनमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा प्लास्टिक टनेल, थोपा सिँचाइका लागि पाइप, पानी संकलन गर्न ड्रम लगायतका सामग्री वितरण गरिएको हो। वितरण गरिएको सामग्री बेमौसमी तरकारी खेतीका लागि अत्यन्त उपयोगी मानिन्छ। यस्ता सामाग्री प्रयोग गरेर किसानहरूले अल्पकालीन समयमा उच्च उत्पादन गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञहरूले जनाएका छन्।
आर्थिक तथा प्राविधिक सहकार्यमा शहिद परिवार समाज नेपालले यस कार्यक्रममा लुङ्ग्री गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा शहिद परिवार समाज नेपालको समन्वयमा सामाग्री वितरण गरिएको हो। कार्यक्रममार्फत विशेष गरी लुङ्ग्री गाउँपालिकाको वडा नम्बर १, ४, ५ र ६ मा रहेका कृषक समूहहरूलाई लक्षित गरिएको छ।
शहिद परिवार समाज नेपालका प्रतिनिधिहरूले जानकारी दिएअनुसार, यस परियोजनामार्फत महिलालाई प्रथमिकतामा राखी समुहमा आवद्ध गरिने, आर्थिक बचत र आयआर्जनमा आधारित कार्यक्रमहरू संचालन गरिने, तथा बाख्रा पालन र कृषि बाटो बिरुवा वितरण समेत अघिल्लो आर्थिक वर्षमै भइसकेको थियो।
स्थानीय नेताहरूको सक्रिय सहभागितालाई सामग्री वितरण कार्यक्रममा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा, कृषि शाखा प्रमुख भूपेन्द्रकुमार पाण्डे, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत विक्रम भट्ट, शहिद परिवार समाज नेपालका झपेन्द्र खड्का, लक्ष्मी विक, तुकमाली कुमारी बुढाथोकी र सुस्मिता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन शहिद परिवार समाज नेपालका लेखा अधिकृत गणेशमान खड्काले गर्नुभएको थियो भने प्रविधि र उपकरणको प्रयोग सम्बन्धी प्राविधिक जानकारी परियोजना संयोजक प्रशान्त पाण्डेले प्रस्तुत गरेका थिए।
कृषकहरूको उत्साह र अपेक्षा सामाग्री पाएपछि किसानहरूमा उत्साहको लहर देखिएको थियो। लुङ्ग्री गाउँपालिकाको पहाडी भूगोलमा सिँचाइको सीमित सुविधा तथा जलवायु अनुकूल खेती गर्न चुनौतीपूर्ण मानिँदै आएको छ। तर, आधुनिक प्रविधि र सामाग्रीहरूको पहुँचले किसानहरूमा आत्मविश्वास बढाएको छ ।
कृषकहरूले भने, “यसरी प्राप्त सामग्रीको प्रयोगले अब बेमौसमी तरकारी उत्पादनमा बृद्धि गर्न सकिनेछ । तर, उत्पादनको बजार व्यवस्थापनमा पनि गाउँपालिकाले चासो दिनुपर्छ।” उनीहरूले उत्पादन बढाएर लाभ लिन सके पनि बजार अभावले कृषि पेशामा टिक्न गाह्रो हुने धारणा व्यक्त गरे ।
बजार व्यवस्थापनको तयारी कृषि सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले भने, “गाउँपालिकाले कृषकहरूको उत्पादनलाई संकलन गर्न वडा नं। ५ स्थित किलाचौरमा संकलन केन्द्र निर्माण गरिसकेको छ। त्यस्तै, कोल्ड स्टोर निर्माणका लागि सम्भाव्यता अध्ययनसमेत भइरहेको छ।”
अध्यक्ष थापाले किसानहरूलाई उत्पादनको गुणस्तरमा ध्यान दिन सुझाव दिँदै उत्पादनको उचित मूल्य पाउनका लागि सामुहिक उत्पादन र संकलन प्रणालीमा जोड दिन आग्रह गरे। “अब हामी उत्पादन मात्र होइन, बजारीकरणमा पनि उतिकै सशक्त भएर लाग्नुपर्छ,” उहाँले थप्नुभयो।
कृषिमा लगानी र युवाको सहभागिता गाउँपालिकाले हालसालै कृषि तथा पशुपालन क्षेत्रमा युवाको संलग्नता बढाउने योजनालाई पनि अघि सारेको छ। विदेशिने युवालाई गाउँमै रोजगारी दिने उद्देश्यले परियोजना ल्याइएको अध्यक्ष थापाले जानकारी दिनुभयो। यस परियोजनाले ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका अन्य वक्ताहरूले कृषिमा आत्मनिर्भरता हासिल गर्न सामुहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै, सरकारले प्रविधि, वित्तीय पहुँच, तथा बजारीकरणमा थप लगानी गर्नुपर्ने धारणा राखे।
परियोजनाको दीर्घकालीन उद्देश्य साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको मूल उद्देश्य ग्रामीण क्षेत्रमा कृषि र पशुपालनमा आधारित आयआर्जनका स्रोतहरूलाई प्रवर्द्धन गर्नु हो। यसको दीर्घकालीन लक्ष्य भनेको आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनमा आत्मनिर्भरता हासिल गर्नु रहेको हेफर प्रोजेक्ट नेपालले जानकारी दिएको छ।
लुङ्ग्री गाउँपालिकामा गरिएको कृषि सामाग्री वितरण कार्यक्रमले ग्रामीण क्षेत्रका किसानहरूमा सकारात्मक ऊर्जा भरिदिएको छ। बेमौसमी तरकारी खेतीको सम्भावना उच्च रहेको यस क्षेत्रका किसानहरूले प्लास्टिक टनेल, थोपा सिँचाइ जस्ता प्रविधिहरूको प्रयोग गरी उत्पादनमा गुणात्मक फड्को मार्न सक्ने विश्वास लिएको पाइन्छ।
स्थानीय तहको अग्रसरता, प्राविधिक सहयोग, र कृषकहरूको उत्साहको समिश्रणले ग्रामीण कृषि विकासको मार्गप्रशस्त गर्ने देखिएको छ। यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन भई कृषि क्षेत्रलाई व्यावसायिक रुपमा रूपान्तरण गर्न सकेमा समृद्ध गाउँ र समृद्ध राष्ट्रको सपना पूरा गर्न कठिन नहोला।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
