• २७ चैत्र २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
काठमाडौं उपत्यकाको प्रदूषण उच्च बिन्दुमा, दाङ पनि खतराकै विन्दुमा




काठमाडौं । केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ। यो अवस्थामा घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन सरकारले अनुरोध गरेको छ।

उपत्यकासहित देशका विभिन्न ठाउँमा लागेको वन डढेलोसँगै उद्योग कलकारखाना र सवारी साधनबाट निस्कने धुँवा, फोहोर जलाउँदाको धुवा, घर र सडकबाट निस्कने धुलोले प्रदूषण बढिरहेको वातावरण विभागले जनाएको छ। विभागले प्रदूषणको सबैभन्दा जोखिम काठमाडौं उपत्यकामा रहेको जनाएको छ।

वायुको गुणस्तर सूचकाङ्क ३०१ भन्दामाथि भए स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ। यस्तै २०१ देखि ३०० सम्म निकै अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, १०१ देखि १५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १०० मध्यम र ० देखि ५० स्वास्थ्यको लागि राम्रो मानिन्छ। तर केही दिनयता बढेको प्रदूषणले विभिन्न स्वास्थ्य समस्या भएको भन्दै अस्पताल पुग्नेको संख्या बढ्दै गएको छ।

विभागका अनुसार अहिले काठमाडौंको रत्नपार्क, मकवानपुरको हेटौंडा, बाराको सिमरा, पोखरा, दाङ, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, धनगढी, धनकुटा, झापाको दमक, विराटनगर लगायतका ठाउँमा प्रदूषणको मात्रा स्वास्थ्यको लागि हानिकारक अवस्थामा पुगेको छ।

विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेको भन्दै अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गरेको हो। वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं स्वाप्रश्वास र मुटुका बिरामी, गर्भवतीलाई विशेष प्रभाव पर्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

बढ्दो प्रदूषण कम गर्नको लागि वनमा डढेलो नलगाउन, घरायसी तथा ठोस फोहोर र प्लाष्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन र सवारीसाधनको नियमित मर्मत गर्न अनुरोध गरेको छ। उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट हुने धुँवा धुलो नियन्त्रण गर्नसमेत विभागको अनुरोध छ।

अझै तीन दिन देशका अधिकांश भूभागमा पानी पर्ने सम्भावना नरहेकाले वायु प्रदूषणसँगै सुख्खापन र आगलागीका घटना बढ्ने सक्ने मौसमविद्ले पूर्वानुमान गरेका छन्। यसले स्वास्थ्यदेखि दैनिक जीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने भएकाले त्यसबाट बच्न आवश्यक उपाय अपनाउन महाशाखाले अनुरोध छ।

Facebook Comments