• २७ चैत्र २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवा गाउँपालिकाको नवौं स्थापना दिवस भव्यताका साथ सम्पन्न(फोटो फिचर)




श्रवण कुमार यादव
देउखुरी। दाङ जिल्लाको गढवा गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवस विशेष समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

गाउँपालिकाको कार्यालय प्रांगणमा आज मंगलबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्तीको प्रमुख अतिथि तथा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

स्थानीय सरकार समृद्धिको आधार – सभामुख घर्ती
समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले स्थानीय तह स्वायत्त र बलियो सरकार भएको उल्लेख गर्दै, देशको विकास र समृद्धिमा यसको महत्वपूर्ण योगदान रहने बताउनुभयो। उहाँले संघीय प्रणालीलाई आर्थिक भारको रूपमा मात्रै नभई राजनीतिक रूपले बुझ्नुपर्ने औंल्याउँदै, संघीयता विरोधी शक्तिहरूले गलत प्रचार गरिरहेको बताउनुभयो।

घर्तीले गढवा गाउँपालिकाले समाजको समृद्धि र दिगो विकासका लागि गरिरहेका प्रयासहरूको उच्च मूल्यांकन गर्दै थप सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय सरकारलाई स्थिरता प्राप्त एकल अधिकार सम्पन्न निकाय भएको उल्लेख गर्दै, “स्थानीय तहले आफ्नै कानुन निर्माण गरेर पाँच वर्षसम्म निरन्तर स्थिर सरकार चलाउन सक्छ, जसले संघीय शासन प्रणालीलाई मजबुत बनाउँछ,” भन्नुभयो।

स्थानीय सरकार स्थायित्वको मेरुदण्ड – सांसद चौधरी
प्रदेश सांसद तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारूले लोकतन्त्रपछि नेपालले विकास र समृद्धिमा फड्को मारेको बताउँदै, संघीयता र गणतन्त्रविरोधी शक्तिहरूले गलत अफवाह फैलाइरहेको आरोप लगाउनुभयो। उहाँले स्थानीय सरकारको स्थायित्वले कृषि, स्वास्थ्य, शिक्षा र मानव संसाधनको विकासलाई अघि बढाउने ठूलो सम्भावना बोकेको उल्लेख गर्नुभयो।

उहाँले, “गाउँपालिकालाई नगरपालिकामा रूपान्तरण गर्ने बहस विकासको पूर्वाधार तयार नहुँदै चिया पसलमा गरिने गफ जस्तै हो,” भन्दै स्थानीय सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष यम नारायण शर्मा पोख्रेलले गाउँपालिकाले पछिल्ला नौ वर्षमा सम्पन्न भौतिक पूर्वाधार, कृषि, पशुपालन, मानव संसाधन तथा सामाजिक विकासका उपलब्धिहरूको फेहरिस्त अध्यक्ष यम नारायण शर्मा पोख्रेलले प्रस्तुत गर्नुभयो। उहाँले गढवाको विकासका लागि गाउँपालिकाले विभिन्न नविनतम योजनाहरू कार्यान्वयन तथा विकास योजनाका प्रगति प्रतिवेदन प्रस्तुत गरि जानकारी गराउनुभएको थियो।

उक्त विशेष समारोहमा प्रदेश सांसद माननीय इन्द्रजित चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, गढवा गाउँपालिका निवर्तमान अध्यक्ष सहज राम यादव, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव, ईलाका प्रहरी कार्यालय गढवाका प्रशासन प्रमुख प्रहरी निरीक्षक कालिका कार्की लगायत वडा अध्यक्षहरू, बौद्धिक वर्ग, पत्रकार, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा विभिन्न प्रतिष्ठित व्यक्तित्व, संस्था र उत्कृष्ट योगदान गर्ने नागरिकहरूलाई सम्मान गरिएको थियो। कृषि प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्ने ३३ जना कृषकहरू सम्मानित भएका थिए। ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र पालिका स्थापना दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने साहित्य, पत्रकारिता, कला-संस्कृति, शिक्षा, सहकारी, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक कार्य, करदाता लगायतका २१ विधाका कुल ७१ जनालाई सम्मान–पत्र प्रदान गरिएको थियो।

गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो।

Facebook Comments