नवीन जैसी
मेरो कलेजका सिनियर दाइ, दिदी, र साथीहरू सहित हामी करिब ३६ जना पोखरा भ्रमणका लागि गएका थियौं। जानु अघि एक दिन पहिला नै हामीले आफ्नो सामान तयार गरेका थियौं र यात्रा सुरु हुने दिनको निकै प्रतीक्षा गरिरहेका थियौं।
हामीले सुनेअनुसार भोलिपल्ट बेलुकी ४ बजे बस छुट्ने थियो, तर बस लगभग राति ८ बजे मात्र आयो। यद्यपि, हामी निराश भएका थिएनौं, किनभने पोखरा जाने उत्साहले हाम्रो मन भरिएको थियो। बस कुर्दाकै समयमा हामी गीत सुन्दै रमाइरहेका थियौं। खासगरी मेरो दिल छ पोखरामा भन्ने गीतले हाम्रो उत्साह झन् बढाएको थियो।
बस ढिलो हुँदा केही निराशा त भयो, तर राति ८:४५ मा बस छुटेपछि सबै जना रमाउँदै, होहल्ला गर्दै यात्रा अघि बढायौं। लमही पुग्नासाथ सबै थाकिसकेका थिए, र त्यहाँबाट अधिकांश साथीहरू निदाए। साँझको खानापछि फेरि बस चढेर हामी निरन्तर अघि बढ्यौं।
पोखरामा पहिलो बिहान
पोखरा पुगेपछि हामी Sweet Inn होटलमा पुग्यौं, जहाँ हामीले आराम गरेर फ्रेश भयौं। त्यसपछि नास्ता खाएर हामी बिहानै फेवा तालतर्फ लाग्यौं। फेवा तालमा डुंगा चढी तालबाराही मन्दिरको दर्शन गर्यौं। त्यसपछि डेविड्स फल्स घुम्न गयौं, जहाँ मैले धेरै फोटोहरू खिचेँ।
मलाई पोखरा अत्यन्तै मन पर्यो, किनभने यो अरू ठाउँभन्दा भिन्न, स्वच्छ र सुन्दर थियो। हामीले दिउँसोको खाना पनि Sweet Inn मै खायौं।
पोखराको सुन्दरताः हिमाल, ताल र पर्यटकहरू
पोखराबाट अन्नपूर्ण र धवलागिरि हिमालका मनोरम दृश्यहरू नियाल्न सकिन्छ। नौ तालहरूले सजिएको पोखरा वास्तवमै सुन्दर रहेछ। फेवा तालमा माछापुच्छ्रे हिमालको प्रतिबिम्ब देख्दा त्यो दृश्य अविस्मरणीय लाग्यो। विदेशी पर्यटकहरू पनि पोखराको सुन्दरतामा मोहित भएर यहाँ आउने रहेछन्।
कुनै मानिसले एकपटक पोखरा घुमेपछि भन्छन्— वाह पोखरा! आहा पोखरा! गज्जब पोखरा! तर जो पहिलोपटक आउँदैनन्, उनीहरूलाई उत्सुकता लाग्छ— के साँच्चै पोखरा स्वर्गको टुक्रा हो त?
हिमालको शहर— पोखरा
गण्डकी प्रदेशको राजधानी पोखरा हिमाल र तालको शहरको रूपमा चिनिन्छ। विश्वका ८ हजार मिटर अग्ला ८ हिमालमध्ये ३ वटा— अन्नपूर्ण, धौलागिरि, र मनास्लु— यसै प्रदेशमा पर्दछन्।
अन्नपूर्ण हिमालको आकर्षण मात्रै होइन, यो विश्वको पहिलो ८ हजार मिटर अग्लो हिमाल हो, जसको पहिलो आरोहण सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले गरेका थिए। यही आरोहणले नेपाल र पोखरालाई विश्वसामु चिनायो।
माछापुच्छ्रे हिमाल
माछापुच्छ्रे हिमालको टुप्पा माछाको पुच्छरजस्तै देखिन्छ, त्यसैले यसको नाम माछापुच्छ्रे राखिएको हो। विदेशी पर्यटकहरूले यसलाई “Fish Tail” भनेर चिन्ने गरेका छन्। जब बिहान सूर्योदयको पहिलो किरण यस हिमालमा पर्छ, तब दृश्य अत्यन्त स्वर्गीय देखिन्छ।
डेभिड्स फल्स— दुःखद कथाको साक्षी
पोखराको एक प्रसिद्ध छाँगो हो डेभिड्स फल्स। यो छाँगो एक दुखद घटनासँग सम्बन्धित छ। वि.सं. २०१८ साउन १५ गते, एक स्वीस दम्पती यहाँ नुहाइरहेका थिए। अचानक आएको बाढीले श्रीमती डेभिलाई बगायो, जसका कारण उनको मृत्यु भयो। त्यही घटनापछि यो छाँगो डेभिड्स फल्स भनेर चिनिन थाल्यो।
यो छाँगो करिब १०० मिटर गहिराइसम्म भूमिगत बग्छ र १ किलोमिटर पर फुस्रे खोलामा मिसिन्छ। स्थानीयबासी यसलाई पाताले छाँगो पनि भन्छन्।
पोखराका प्रसिद्ध गुफाहरू
पोखरा गुफाहरूको शहर पनि हो। यहाँ धेरै प्रसिद्ध गुफाहरू छन्, जसमध्ये प्रमुख गुफाहरू हुन्—
महेन्द्र गुफा: यो पोखरा-१६, बाटुलेचौरमा रहेको १२५ मिटर लामो गुफा हो। बिजुली बत्तीको सुविधा भएकाले यहाँ टर्च बोक्नु पर्दैन।
चमेरे गुफा: यहाँ ठूलो सङ्ख्यामा चमेराहरू पाइन्छन्। गुफाभित्र हेर्दा चमेराहरू झुण्डिएको देख्न सकिन्छ।
गुप्तेश्वर गुफा: पाताले छाँगोको नजिकै रहेको धार्मिक गुफा हो, जहाँ गुप्तेश्वर महादेव मन्दिर रहेको छ।
सराङकोट— सूर्योदय र हिमाल अवलोकनको उत्कृष्ट थलो
समुद्री सतहबाट १६०० मिटर उचाइमा रहेको सराङकोट हिमश्रृंखला अवलोकन गर्न उत्कृष्ट स्थान हो। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य अवलोकन गर्न सकिन्छ।
पोखरा साँच्चै नै अनुपम छ। यहाँको प्राकृतिक सौन्दर्य, ताल-हिमालको संयोजन, शान्त वातावरण, अनि साहसिक पर्यटनका अवसरहरूले यो स्वर्गको टुक्राजस्तै लाग्छ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।