• २७ चैत्र २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवर्द्धन पनि अनिवार्य: प्रदेश सभामुख घर्ती




कमिरेचौर।  दाङको बंगलाचुली गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। बंगलाचुली गाउँपालिकाको आयोजनामा तथा महेन्द्र नमुना माध्यामिक विद्यालय, श्रीवारीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

उक्त प्रतियोगिताको उद्घाटन बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको समेत उपस्थिति थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बंगलाचुलीको भौतिक, सामाजिक तथा सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले खेलकुदको राष्ट्रिय महत्व उल्लेख गर्दै शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवर्द्धन पनि अनिवार्य रहेको बताउनुभयो। उहाँका अनुसार खेलकुद शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई अनुशासन, एकता र नेतृत्व विकासका लागि पनि महत्वपूर्ण छ।

बंगलाचुलीको भौगोलिक विशेषता फरक रहेको उल्लेख गर्दै सभामुख घर्तीले यहाँको स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने भएकाले कृषि, पर्यटन तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकार, जनप्रतिनिधि तथा स्थानीय समुदायको साझा प्रयास आवश्यक रहेको उहाँको धारणा थियो।

देशको समग्र विकासका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै सभामुख घर्तीले तीनवटै तहका सरकार र जनप्रतिनिधिहरूले जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले खेलकुद प्रतियोगिता बंगलाचुलीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले खेलकुदले युवाहरूलाई अनुशासित बनाउनाका साथै उनीहरूको भविष्य निर्माणमा समेत सहयोग पुर्‍याउने धारणा राख्नुभयो। साथै, गाउँपालिकाले शैक्षिक तथा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बंगलाचुलीमा खेलकुदका साथै अन्य क्षेत्रमा समेत विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभयो। उहाँले खेलकुद गतिविधिहरूले स्थानीय व्यवसाय तथा पर्यटन प्रवर्द्धन गर्न सक्ने भएकाले खेल क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य गणेश विश्वकर्मालगायत विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो।

रनिङ शिल्ड प्रतियोगितामा बंगलाचुलीका ६ वटा माध्यमिक विद्यालय— महेन्द्र माध्यामिक विद्यालय स्युजा, सुधा माध्यामिक विद्यालय झेलनेटा, माध्यामिक विद्यालय भेडाबारी मुलाबारी, सरस्वती माध्यामिक विद्यालय जवरकोट, खड्ग माध्यामिक विद्यालय हाँसिपुर तथा प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको महेन्द्र माध्यामिक विद्यालय श्रीवारी सहभागी रहेका छन्।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य, वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्ती, वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर केसी, वडा नम्बर ७ का अध्यक्ष गिर बहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष झविन्द्र गाहामगर, गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसी, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो।

रनिङ शिल्ड प्रतियोगितामा छात्र तथा छात्रा तर्फ १४ विधाका खेलकुद प्रतियोगिता समावेश गरिएका छन्। उद्घाटन समारोह महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीका प्रधानाध्यापक तिलकराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सहजिकरण सोही विद्यालयका शिक्षक टेक बहादुर विकले गर्नुभएको थियो।

Facebook Comments