बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवालाई विस्तार गर्दै शुक्रबारदेखि तीन वटा शल्यक्रिया कक्षा थप गरिएको अस्पतालले जनाएको छ ।
प्रसूति सेवाका लागि आउने महिलाहरूको संख्या बढ्दै जाँदा गर्भवती महिलाले शल्यक्रियाका लागि पनि पालो पर्खिनुपर्ने बाध्यता थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले थप गरिएका शल्यक्रिया कक्षको उद्घाटन गर्दै विस्तारित शल्यक्रिया कक्षले उपचार सेवा छिटोछरितो हुने र पालो पर्खिनु पर्ने अवस्थाको अन्त्य भएको बताए । ‘गर्भवती महिलाले प्रसूतिको शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ,’ उनले भने, ‘सेवा प्रवाहमा पनि सुधार ल्याउनेछ।’
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार वार्षिक ९ हजार महिलाले अस्पतालबाट शल्यक्रिया सेवा लिएका छन्। अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा मात्र ९ हजार ७ सय ६५ जनाले शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको उनले बताए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।