देउखुरी । कोइलाबास नाकालाई पुनः सक्रिय बनाउन भारतको तुलसीपुरमा नेपाल भारतका व्यवसायिक नेतृत्वबीच छलफल भएको छ ।
देउखुरी उद्योग वाणिज्य संघ लमही र भारतको बलरामपुर उद्योग व्यापार मण्डलका प्रतिनिधिहरूबिच भएको बैठकमा कोइलाबास नाका सञ्चालनको विषयमा छलफल भएको हो।
नेपाली पक्षबाट देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले कोइलाबास नाकाको पुनर्जीवनले दुवै देशलाई आर्थिक लाभ दिलाउने बताउनुभयो ।
बैठकमा भारतको बलरामपुर उद्योग व्यापार मण्डलका महासचिव दिलिप कुमार गुप्ताले भन्सार प्रक्रियालाई डिजिटल बनाउने, सीमा व्यापारलाई सहजीकरण गर्ने, र धार्मिक पर्यटकीय मार्गहरूलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
बैठकमा दुवै पक्षले कोइलाबास नाकाको पुनःउत्थानका लागि प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिइएको छ । देउखुरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरिथापाले २०५१–५२ सालदेखि ठप्पजस्तै रहेको कोइलाबास नाका अहिले पनि नेपाली र भारतीय दुवै पक्षका लागि आर्थिक फाइदाको माध्यम बन्ने बताउनुभयो ।
दुई देशको साझा प्रयास आवश्यकनेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन कोइलाबास नाका मात्र व्यापारिक मार्ग होइन, यो दुई देशको सांस्कृतिक र धार्मिक सम्पर्कको प्रतीकसमेत हो। यस्तो महत्वपूर्ण स्थानलाई पुनः सक्रिय बनाउन दुवै देशका सरकार र निजी क्षेत्रले साझा प्रयास गर्नुपर्नेमा जोड दिएको छ । कोइलाबासले व्यापार मात्र नभइ आपसी भाइचाराको सन्देश पनि प्रवाह गर्ने भएकाले नाका पुनः सञ्चालनका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने सहभागिको जोड थियो ।
देउखुरी उद्योग वाणिज्यसंघले सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको आयोजना गर्न थालेको जानकारी दिँदै भारतीय व्यापारी मण्डललाई औपचारिक निमन्त्रणा समेत दिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।