श्रवण कुमार यादव
लमही। दाङ देउखुरीको लमही नगरपालिका-६, देउपुर स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा माघी पर्वको अवसरमा विशेष माघी मिलन तथा फुड फेस्टिभल कार्यक्रम सम्पन्न भएको छ ।
एक साधारण दिन जस्तो लाग्ने पौष २५ गते। तर, त्यो दिनले विद्यालयलाई एक परम्परागत महोत्सवको केन्द्रबिन्दु बनायो, वातावरण अरुदिन भन्दा बेग्लै थियाे। विद्यालयको प्राङ्गणमा रंगीचंगी स्टलहरू सजिएका थिए। हरेक स्टलमा व्यस्त विद्यार्थीहरू, उनीहरूका चम्किला अनुहार र हातमा परम्परागत परिकारहरू। यो दृश्यले देउखुरी पब्लिक स्कूललाई साँच्चै नै गर्व गर्न लायक बनायो।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले आफ्ना हातले परिकार तयार गर्दै गर्दा शिक्षकहरू परिपूर्ण मार्गनिर्देशकका रूपमा साथमा थिए। “यो भान्सामा मात्र होइन, जिन्दगीमा पनि सिर्जनशील हुने पाठ हो,” एक शिक्षकले विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै भने।
विभिन्न समुदायका विद्यार्थीहरूले आफ्ना समुदायका मौलिक परिकारहरू तयार पारे। तामाङको सेल रोटी, थारु समुदायको ढिक्री, खरीया बरीया , नेवार समुदायको यमरी लगायत अन्य परिकारहरु मम, पकौडा, मासु लगायतका बिभिन्न स्वादले भरिएका पक्वानहरु विद्यालय परिसरमा प्रस्तुत गरिएका थिएअ।यी परिकारहरूले नेपालको सांस्कृतिक विविधतालाई झल्काए।
विद्यार्थीहरूले बनाएका परिकारहरू बिक्रिका लागि राखेका थिए। अभिभावक, शिक्षक, र अतिथिहरू यी स्टलहरूमा गएर परिकारको स्वाद चाख्थे र खरीद गर्थे। स्टलहरू मात्र व्यापार गर्ने स्थान थिएनन्, ती विद्यार्थीहरूका लागि जीवनको पाठशाला पनि बने। सोही विद्यालयका एक अभिभावकले उत्साहजनक स्वरमा भने, “नानीबाबुहरूले यति स्वादिलो परिकार बनाएका छन्, यो त गर्वको कुरा हो! अब त म घरमा बनाउँदा उनीहरूसँग सुझाव लिन्छु।”
फुड फेस्टिभलले विद्यार्थीहरूलाई केवल परिकार बनाउन सिकाएन, व्यवसायिक सोचको बीउ पनि रोपिदियो। “तपाईंले बनाएको परिकारलाई कसरी प्रस्तुत गर्ने र बजारमा कसरी बिक्री गर्ने भनेर यहाँ विद्यार्थीहरूले प्रत्यक्ष सिकेका छन्,” शिक्षकले भने। यसले उनीहरूलाई व्यवहारिक सीप र आत्मनिर्भरताको सोच दिने मात्र होइन, भविष्यमा व्यवसायको आधारशिला पनि बनाइदिएको छ।
एक अविस्मरणीय दिन फुड फेस्टिवलको अन्त्यमा, विद्यालयका प्रधानाध्यापकले सबैलाई धन्यवाद ज्ञापन गर्दै भने, “यो फेस्टिवल हाम्रो संस्कृति, शिक्षा, र व्यवहारिक ज्ञानको अद्वितीय संगम हो। यस्ता कार्यक्रमहरूले हामी सबैलाई हाम्रो जरा र भविष्य दुवैलाई अझ मजबुत बनाउँछ।”
पौष २५ को त्यो दिन केवल फुड फेस्टिवलको कथा मात्र थिएन, यो विद्यार्थीहरूको मेहनत, संस्कृतिको जगेर्ना, र आत्मनिर्भर भविष्यको प्रतिविम्ब थियो। देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले त्यस दिनलाई अमर बनायो।
विद्यालय सञ्चालक समितिका वरिष्ठ सदस्य रतन कुमार केसीकाे अध्यक्षतामा सम्पन्न भएकोे माघी मिलन तथा फुड फेस्टिभल कार्यक्रममा प्रमुख अतिथि थारु लेखक साहित्यकार तथा अगुवा शेर बहादुर चौधरी, प्रधानाध्यापक भूमाण्डप केसी, थारु साहित्यकार छबिलाल कोपिला, थारु कल्याणकारी सभाका क्षेत्रीय सदस्य देउमणी चौधरी, समाजसेवी नारायण योगीसमेत सहभागी हुनुहुन्थ्यो। अतिथिहरूले आफ्नो मन्तव्यमार्फत संस्कृतिको जगेर्ना र शिक्षा प्रणालीमा यस्ता कार्यक्रमको महत्त्वमा जोड दिएका थिए।
विद्यालयका परीक्षा समिति संयोजक राम औतार चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण भने विद्यालयका शिक्षक सन्दीप खनालले गरेका थिए।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।