घोराही । दाङको घोराहीमा छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको हो । संघले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिएको छ ।
‘उद्योग, व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराकोसाथ फागुन २ गतेदेखि १८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौरामा छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१ हुन लागेको आयोजकले जनाएको छ ।
महोत्सवले विशेष गरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने महोत्सव मूल आयोजनक समितिका संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले बताए ।
‘उद्योग वाणिज्य संघले विभिन्न समयमा यहाँको उद्योग, व्यापार, कृषि एवम् पर्यटनलगायतका क्षत्रको विकास र प्रवर्द्धनका लागि भूमिका खेल्दै आएको छ’, उनले भने, ‘यसैको निरन्तरता स्वरुप संघले महोत्सवको आयोजना गर्दैछ ।’
महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी वस्तु विकासका साथै बजार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । साथै यस्ता महोत्सवले पर्यटन विकास एवम् संस्कृतिक विकासमा पनि महत्पवूर्ण भूमिका निर्वाह गर्ने संयोजक जोशीको भनाइ छ ।
महोत्सवमा औद्योगिक तथा व्यापारीक बस्तुहरुको प्रदर्शनी एवम् विक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवम् सूचना प्रविधिको प्रदर्शनी गरिने मुल आयोजक समितिका सह—संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले बताए ।
सह—संयोजक बुढाथोकीले महोत्सवमा लुम्बिनी प्रदेश १२ ओटै जिल्लाबाट विभिन्न व्यापारिक स्टलहरु रहने र करीब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको समेत बताए ।
संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।