तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकाले गरिब र असहाय परिवारलाई किरिया खर्चका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूलाई उक्त किरिया खर्च दिन थालिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकामा बसोबास गर्ने गरिब तथा असहाय परिवारलाई मृत्यु संस्कार गर्दा लाग्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै यो सहयोगको व्यवस्था गरिएको हो।
“गरिबीका कारण अन्त्येष्टि र किरिया संस्कारमा समस्या झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न हामीले यो योजना ल्याएका हौं। यसले गरीब, असहाय परिवारलाई केही हदसम्म राहत प्रदान गर्नेछ,” विष्टले भन्नुभयो।
यो सहयोग प्राप्त गर्न सम्बन्धित वडाबाट गरिबी तथा असहाय भएको सिफारिस पेश गर्नुपर्नेछ।
गाउँपालिकाले यो सहयोग छिटो र सहज रूपमा उपलब्ध गराउने जनाएको छ। गाउँपालिकाको यो कदमले गरीब एवम् असहाय वर्गका लागि राहतको काम गर्ने विश्वास व्यक्त गरिएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।