तुल बहादुर कवँर मगर
भालुबाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएकाे छ।
शनिबार राप्ती गाउँपालिका-२ लालमटियामा रहेको गोरखा आइडियल स्कूलले वार्षिक कार्यतालिका अनुसार आयोजना गरेको खेलकुद सप्ताहकाे समापन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभयाे।
विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने अध्यक्ष विष्टले विश्वास व्यक्त गर्नुभयाे।
त्यस्तै अध्यक्ष विष्टले विद्यालय जीवनमा पढाइ सँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण रहने बताउँदै खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो।
नर्सरी देखि १० कक्षा सम्मका विद्यार्थीहरुले भाग लिएकाे खेलकुद सप्ताहमा २५ भन्दा बढी खेलकुद समावेश गरिएको स्कुलका प्रधानाध्यापक बसन्त पुनले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेता खेलाडी विद्यार्थीहरुलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियाे।
गाेरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाेरखा ग्रुपका शिक्षा निर्देशक दुर्गा बहादुर केसी,गाेरखा माेडेल सेकेन्डरी स्कुल लमहीका उपाध्यक्ष डाेर बहादुर जिसी,राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य रण बहादुर पुजाली,निल सागर सेवा आश्रमका केन्द्रीय अध्यक्ष सरिता खनाल,अभिभावक श्यामलाल बराल,पत्रकार
महेश रिजाल लगायत शिक्षक,विद्यार्थी र अभिभावकहरुकाे उल्लेख सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।