तुल बहादुर कवँर मगर
सिसहनियाँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का दुई विद्यालयका ८३ जना विपन्न विद्यार्थी र वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २५ जना बेसाहारा मानवलाई न्यानो कपडा वितरण गरिएको छ।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको सहयोग एवम् राप्ती गाउँपालिकाको समन्वयमा उनीहरूलाई उक्त सामाग्री वितरण गरिएको हो।
सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ १६ र प्राथमिक विद्यालय थकरीकोटका ६७ जना विद्यार्थीहरूलाई हुड, सुरुवाल जस्ता न्यानो कपडा तथा कापी, पेन्सिल, इरेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको संस्थाका विद्यार्थी संयाेजक दिपा चाैधरीले जानकारी दिनुभयो ।
त्यस्तै संस्थाले निलसागर सेवा आश्रममा रहेका बेसाहारा मानवहरूलाई जाडोबाट जोगिन आवश्यक न्यानो कपडा वितरण गरिएको संयाेजक चाैधरीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले न्यानो कपडा र शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूलाई अध्ययन कार्यमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “विपन्नताका कारण कतिपय विद्यार्थीहरूले न्यानो कपडा अभावमा जाडोमा पढ्न कठिनाई भोगिरहेका थिए। यसले उनीहरूको पढाइमा ध्यान दिन समस्या ल्याएको थियो। अहिलेको यो सहयोगले उनीहरूको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्नेछ।”
त्यस्तै अध्यक्ष विष्टले गाउँपालिकाले विपन्न र पछाडि परेका वर्गका विद्यार्थीलाई शिक्षामा समान अवसर प्रदान गर्न प्राथमिकता दिँदै आएको पनि स्पष्ट पार्नुभयो।
शिक्षा ,स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा संस्थाले गरेको कामकाे उच्च प्रसंसा गर्दै अध्यक्ष विष्टले आगामी दिनमा समेत पालिकाले संस्था सँग निरन्तर साझेदारी गरेर अगाडि बढ्ने बताउनुभयो ।
सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक, अभिभावक लगायत संस्थाका कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।
वि.सं. २०६४ सालमा दाङको गढवा गाउँपालिकामा संस्थाले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।
हाल दाङको राप्ती,गढवा र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको साे संस्थाले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले जानकारी दिनुभयाे।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।