दाङ। देउखुरीको राजपुर गाउँपालिका–३ खरदरिया निवासी भैँसीपालक किसानले दूध बिक्री, पानी र घाँस अभावको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
राजपुर गाउँपालिका–३ खरदरिया निवासी रामधिरज यादव भैँसीपालक किसान हुन्।उनीसँग अहिले ३५ जिउ भैँसी रहेका छन्। पुख्र्याैली पेसाका रूपमा भैँसीपालन गर्दै आएका यादवका १४ वटा भैँसीले दुध दिने गरेका छन् तर गाउँमा दुध बिक्रीका लागि डेरी वा दुध सङ्कलन केन्द्रको व्यवस्था नहुँदा प्रत्येक दिन करिब ३५ किलोमिटर टाढा रहेको घोराही बजारसम्म आउनुपर्ने बाध्यता रहेको बताए।
‘गाउँमै दुध बिक्री गर्ने व्यवस्था भइदिए सहज हुने थियो’, राजपुर गाउँपालिका–३ खरदरिया पुगेका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसँग समस्या राख्दै ७० वर्षीय यादवले भने, ‘भैँसीपालक किसानका लागि पानी र घाँसको अत्यन्त आवश्यक छ तर गाउँमा पानी नै नहुँदा समस्या भइरहेको छ। पानीको व्यवस्थासँगै दुध बिक्रीका लागि सहज व्यवस्था गरिदिए प्रत्येक दिन घोराहीसम्म जानुपर्ने थिएन।’ गाउँमा दुध खरिद गर्न आउने व्यवसायीले अत्यन्त कम मूल्य दिँदा किसान आफैँ दुध बिक्रीका लागि लमही, घोराही, भालुबाङ बजारसम्म जाने गरेको बताए। आफैँ दही, दुध बिक्रीका लागि बजारसम्म जाँदा थोरै भए पनि आम्दानी हुने र घरव्यवहार चलाउन सहज भएको बताए। उनका अनुसार बजार १०० रुपैयाँ लिटर बिक्री हुने दुध गाउँमा व्यवसायीले प्रतिलिटर ५०÷६० रुपैयाँ मात्र दिने गरेको बताए।
गाउँमा व्यवसायीलाई दुध दिँदा भैँसीपालनमा गरेको लगानी नै नउठ्ने अवस्था रहेको अर्का किसान सिताराम यादव बताउँछन्। गाउँमा दुधको मूल्य नहुँदा किसान आफैले बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता रहेको बताए। दुध बिक्रीदेखि भैँसीलाई खुवाउनका लागि पानीको गाउँमा अत्यन्त समस्या रहेको भन्दै यादवले भने, ‘भैँसीपालन नै हाम्रो मुख्य पेसा हो। दही, दुध बिक्री गरेर घर परिवार चलाउने गरेका छौ तर उत्पादन भएको दही, दुध बिक्री गर्नै समस्या छ। गर्मी मौसममा भैँसीलाई खानेपानी नै हुँदैन । जस्ले गर्दा घाँस खेती गर्नै समस्या छ, यसतर्फ सरकारले ध्यान दिए हामीलाई सहज हुने थियो।’
परम्परागत रूपमा रहेको भैँसीपालनलाई आधुनिकीकरण गर्न किसान उत्सुक रहे पनि आर्थिक अभावका कारण नसकेको भन्दै यादवले प्रदेश तथा स्थानीय सरकारले अनुदानको व्यवस्था गरेर गोठ तथा नस्ल सुधारमा सहयोग गर्नुपर्ने मन्त्री पन्थीसँग माग गरे । खरदरियाका सिताराम र रामधिरज जस्तै बेला, मटेरिया, प्रतापपुरलगायतका गाउँका किसानले दुधको उचित मूल्यसँगै बजारीकरणमा सहयोग गरिदिन सरकारसँग माग गरेका हुन्। किसानले मिहिनेत गरेर दुध, दही उत्पादन गरे पनि बिक्री नहुने समस्या रहेको, वास्तविक किसानले अनुदान पाउन नसकेकोलगायतका समस्याहरू मन्त्रीलगायत जनप्रतिनिधिसँग राखेका थिए।
दुधको बजारीकरणमा सहजीकरण गर्छौँ : मन्त्री पन्थी
कृषि अनुदानदेखि दुधको बजारीकरणमा प्रदेश सरकारले किसानलाई सहयोग गर्ने लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताएका छन्। देउखुरीको राजपुरमा भैँसीपालक किसानको अवस्था र दुध बिक्रीमा भइरहेको समस्या बुझ्नका लागि शुक्रवार किसानको घरदैलोमै पुगेका मन्त्री पन्थीले वास्तविक किसानलाई कृषि अनुदान उपलव्ध गराउनेदेखि किसानले उत्पादन गरेको दुधको बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन्।
किसानलाई सरकारले दिने अनुदान वास्तविक किसानको नै हातमा पर्ने गरी उपलब्ध गराउनका लागि आफू लागिरहेको भन्दै मन्त्री पन्थीले भने, ‘किसानका नाममा धेरै अनुदान आउने गरेको छ। त्यो अनुदानलाई वास्तविक किसानको हातमा पर्ने गरी उपलब्ध गराउनका लागि काम भइरहेको छ । यसले तपाईँहरू जस्ता किसानलाई राहत मिल्ने छ ।’ देउखुरी क्षेत्रमा राजपुर भैँसीपालनका लागि राम्रो ठाउँ भएको भन्दै मन्त्री पन्थीले किसानले दुधको उत्पादनलाई बढाउन परम्परागत रूपमा रहेको भैँसीपालनलाई आधुनिकीकरणसँगै नस्ल सुधारमा ध्यान दिनुपर्ने बताए। ‘परम्परागत रुपमा भैँसीपालन गर्दा किसानको लगानी धेरै, नाफा कम भइरहेको छ’, मन्त्री पन्थीले भने, ‘परम्परागत रूपमा गरिएको भैँसीपालनले किसानको अवस्थामा सुधार आउँदैन। किसानले थोरै लगानीबाट धेरै आम्दानी गर्नेतर्फ सोच्नुपर्छ ।’ त्यसका लागि किसानले गोठ सुधार, पौष्टिक आधार, नस्ल सुधारदेखि उत्पादन भएको दुधको बिक्रीमा ध्यान दिनुपर्ने बताए।
परम्परागत रहेको भैँसीपालनलाई व्यवस्थित गर्दै अघि बढ्न सके प्रशस्त आम्दानीसँगै रोजगारीका अवसर समेत सिर्जना गर्न सकिने मन्त्री पन्थीको भनाइ थियो। दुध उत्पादक किसानले भोग्दै आएका समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकार गम्भीर रहेको भन्दै मन्त्री पन्थीले भने, ‘व्यावसायिक रूपमा उत्पादन गरेको दुध टाउकोमा बोकेर बिक्री गर्न साध्य छैन, घरबाटै दुध बिक्री हुन सक्नुपर्छ । किसानले भोग्दै आएको दुध बिक्रीको समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्नेछ।’
यसैबिच यादव सेवा समाज दाङ देउखुरीले भैँसीपालक किसानले भोग्दै आएका समस्या समाधानका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ। जनप्रतिनिधिसहित भैँसीपालक किसानको सहभागितामा राजपुर गाउँपालिका–३ खरदरियामा शुक्रवार अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीले परम्परागत रूपमा पाल्दै आएको व्यवसायलाई आधुनिकीकरण गर्नेदेखि उत्पादन भएको दुधको उचित मूल्यसँगै बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरेका थिए।
कार्यक्रम यादव समाज सेवा संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवको अध्यक्षता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा भएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।