• ११ पुष २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने




काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तह उपनिर्वाचनको परिणाम उत्साहजनक भएकाले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बिहीबार बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको समीक्षा गर्ने क्रममा यस्तो निष्कर्षमा पुगेको हो ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपनिर्वाचनमा जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणाम उत्साहजनक देखिएको बताउनुभयो । उपनिर्वाचनले आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन प्रतिस्पर्धामा उत्रने आधार तयार पारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थपेर लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई उपलब्धि मान्न सकिन्छ । सबै दल मिलेर गठबन्धन गर्दा पनि पुथाउत्तरगङ्गा गाउँपालिकामा ठुलो मतान्तरले विजयी हुनु र त्यहाँको वडामा निर्विरोध हुनु राम्रो प्रमाण हो ।”

जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरूमा ठुलो मतान्तरले विजयी हुनुलाई माओवादीले उपलब्धिका रूपमा लिएको छ । उहाँले भन्नुभयो, “काठमाडौँको कीर्तिपुरमा नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनुलाई माओवादीप्रति विश्वास बढेको लिन सकिन्छ । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जितकै रूपमा लिएका छन् ।”

प्रवक्ता सापकोटाले आगामी मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाउने निर्णय भएको जानकारी दिनुभयो । त्यसपछि माओवादीको पुस २ गते केन्द्रीय समिति बैठक बस्ने भएको छ । मङ्सिरभर पालिका सम्मेलन र पालिका स्तरमा खबरदारी सभाको आयोजना प्रभावकारी बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले मङ्सिर २२ र २३ गते तोकिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । विद्यार्थी सम्मेलनबारे स्थायी समिति बैठकले निर्णय लिने भएको छ ।

माओवादी बैठकले विद्युत् प्राधिकरणमा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध गरेको छ ।

 

Facebook Comments