सर्जन गौतम
उपनिर्वाचनको नतिजाले के स्पष्ट पार्यो भने मुलुक फेरि पनि दुई दलीय प्रणालीमा जाने देखिएन । माओवादीले पुनः प्रतिस्पर्धात्मक मत हासिल गरेको छ ।काङ्ग्रेसले जितेको ठाउँ मोरङको ग्रामथान (जहाँ माओवादी तेस्रो स्थानमा थियो) पनि माओवादीले चुनाव जितेको छ । तेस्रो पार्टी भए पनि चुनावी रणनीति मिलाउँदा कमब्याक हुने ठाउँ रहेछ । तर राष्ट्रिय निर्वाचनमा माओवादीको पक्षमा यही नतिजा आउन सक्दैन । यसको कारण प्रचण्डको सुनिश्चितजस्तो आधारइलाका (निर्वाचन क्षेत्र) नहुनु हो । यही मनोविज्ञानका आधारमा प्रचण्डले कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन निर्माण गर्छन् र आफ्नो उम्मेदवार नभएको क्षेत्रमा माओवादीले पाउने समानुपातिक मत पूरै पाउन सक्दैन । एक्लै चुनाव लड्ने हो भने समानुपातिकसहित ५०/५२ सिट जित्न माओवादीलाई मुस्किल पर्ने होइन ।
के गोरखा नगएको भए कांग्रेससँगको गठबन्धनका बाबजुद प्रचण्डले चितवनमा निर्वाचन हार्ने नै थिए त ? रेणु दाहालले नगरमा गरेको काम र सरकारमा हुँदा प्रचण्डले चितवनमा खनाएको बजेट आदिका आधारमा हेर्दा उनले चितवनमा हार्ने कारण देखिदैन । त्यसकारण प्रचण्डमा कतै आत्मसुरक्षावादुको प्रवृत्ति हावी भएको त होइन ? उनले यसमा समीक्षा गर्नुपर्ने देखिन्छ । आलोचना र आत्मालोचनाको प्रवृत्ति त संसदीय कम्युनिष्टमा छैन होला । नत्र विचलन त शीर्ष नेतृत्वमा पनि हावी हुनसक्छ । अहिले प्रचण्डले कसैसँग गठबन्धन नगर्ने घोषणा गर्दै हिंडेका छन् । साँच्चै हो भने संगठन सुधार्ने यो राम्रो मौका हुन सक्छ ।
सबै दोष प्रचण्डलाई लगाएर मात्र पनि हुँदैन । माओवादीमा स्थानीय तहका कार्यकर्ता जति यसका दोस्रो , तेस्रो तहका नेता भने लोकप्रिय छैनन्, संसदीय चुनावमा उठ्ने तिनै हुन् ।२०७४ को स्थानीय चुनावमा लगभग एक्लाएक्लै चुनाव लड्दा (रेणुलाई जिताउन चितवनमा गरेको गठबन्धन बाहेक) एमालेले १४,०९७ पद, कांग्रेसले ११,४५४पद र माओवादीले ५,४४२ पदमा चुनाव जितेको थियो । तेस्रो स्थान भए पनि माओवादीको अवस्था त्यति कमजोर थिएन । तर पछि एमालेसँग मिलेर चुनाव लड्दा पनि माओवादीका कैयौँ दोस्रो तहका नेता पराजित भए । त्यसकारण ८४ को चुनाव लड्ने दोस्रो तहका नेतालाई तत्काल काठमाडौंको चार भञ्ज्याङ्बाट बाहिर जनताको माझमा लखेट्ने काम प्रचण्डले गर्नुपर्ने देखिन्छ ।
यो उपनिर्वाचनमा काङ्ग्रेसले कैयौँ पदहरु गुमाएको छ । तर पनि काङ्ग्रेस बलियो अवस्थामा छ । तर सङ्गठन नगर्ने मासपार्टीको काङ्ग्रेसको स्ट्रक्चरले अघिल्लो पुस्तामा जति काम गर्थ्यो, पछिल्लो पुस्तामा काम गर्न छोडेको हो कि ? अबको नयाँ पुस्ता बाउबाजेको पार्टी भएकै आधारमा पार्टीमा सक्रिय हुन छोडेका हुन् कि ? सङ्गठन विस्तार गर्ने र क्याडरको अलि ठूलो संख्या निर्माण गर्ने बेला आइपुगेको हो कि ? कांग्रेसले विचार गर्नुपर्ने देखिन्छ । यो निर्वाचन कांग्रेसलाई आफ्ना रणनीति र सङ्गठनमाथि रिभ्यु गर्ने अवसर हुन सक्छ ।
अहिले पनि २०७४ देखि निरन्तर सबैभन्दा बलियो पार्टी एमाले नै देखिएको छ । उसले यसपटक पालिकामा गुमाउने पर्ने केही थिएन किन िउसले जितेको ठाउँमा स्थान रिक्त भएको थिएन । तर पनि दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष लगायत बोनस पदहरु एमालेले जितेको छ । मदन भण्डारीले सिद्धान्तको क्षेत्रमा प्रजातान्त्रिककरण गरेको र झलनाथले सङ्गठनमा सुधार गरी दुईवटा महाधिवेशनमा पूर्ण रुपले लोकतान्त्रिक विधिबाट सबै पदहरुमा निर्वाचन सम्पन्न गराएको एमाले केपीको पालामा पुनः स्टालिनकालीन मिलिटेन्ट ढाँचामा फर्केको छ । सङ्गठनको मिलिटेन्सी, एनजिओको आर्थिक मद्दत र टार्गेट समूहमा प्रभावको फाइदा लिइरहेको एमालेले पछिल्लो समयमा देशका औद्योगिक घराना धनाड्य व्यापारीहरूबाट समेत सहयोग प्राप्त गर्न थालेको छ । जुन समर्थन एक समयमा कांग्रेसलाई मात्र एकछत्र प्राप्त थियो । त्यसकारण एमालेसँगको गठबन्धन कांग्रेसलाई दीर्घकालीन हिसाबले प्रत्युत्पादक हुन सक्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।