भैरहवा। नेपाल आयाल निगमले भैरहवामा इन्धन डिपो बनाउने प्रक्रिया सुरू गरेको छ। बुधबार एक कार्यक्रम गर्दै निगमले अत्याधुनिक प्रविधि सहितको डिपो निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्न काठमाडौं विश्वविद्यालय (केयु) सँग सम्झौता गरेको हो।
उक्त सम्झौता पत्रमा निगमका तर्फबाट परियोजना प्रमुख इ. प्रदीप यादव र केयुका तर्फबाट कन्सल्टेन्सी विभाग प्रमुख इ. विवेक बरालले हस्ताक्षर गरेका छन्। डिपिआर बनाउन दुई संस्थाबीच एक करोड ९५ लाख रूपैयाँमा सम्झौता भएको हो। डिपिआर ६ महिनाभित्र सम्पन्न हुनेछ भने तीन वर्षभित्र डिपो निर्माण कार्य सम्पन्न गरिने छ।
उक्त अत्याधुनिक डिपो निगमको आफ्नै २१ बिगाहा जमिनमा बन्नेछ। उक्त डिपो बनिसकेपछि भैरहवाको भलवारीस्थित डिपो त्यहाँ स्थानान्तरण गरिने डिपो निर्माण परियोजना संयोजक यादवले बताए।
‘भलवारीको डिपो ४० वर्ष पुरानो हो। जुनसुकै बेला आगो लाग्ने अवस्था भइसक्यो,’ उनले भने, ‘१० वटा गाडीका लागि बनाएको डिपोमा अहिले सयभन्दा बढी गाडी छन्।’ भलवारी डिपो करिब पाँच बिगाहा जमिनमा बनेको छ।
बस्तीको बीचमा रहेकाले पनि डिपो स्थानान्तरण गर्न आवश्यक रहेको उनले बताए। अहिले बन्ने नयाँ डिपो पुरानो डिपोबाट आठ किलोमिटर पर छ। यो डिपो भैरहवाको ओमसतिया गाउँपालिका–५ र रोहिणी गाउँपालिका–३ मा बन्नेछ।
डिपोमा तीन हजार किलोलिटरका तीन वटा डिजेल ट्यांकी, सात सय ६० किलो लिटरको तीन वटा पेट्रोल ट्यांकी, दुई सय ५० किलोलिटरको दुइटा मट्टितेल ट्यांकी र तीन हजार किलोलिटरको दुइटा पानी ट्यांकी बन्नेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।