ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरी लुम्बिनी प्रदेशमा सिँचाइ सुविधा पुर्याएर कृषि उत्पादन बढाउने सरकारको लक्ष्य रहेको बताउनुहुन्छ । अहिले पनि प्रदेशका विकट क्षेत्रहरूमा विद्युतीकरण नपुगेको उल्लेख गर्दै प्रदेश सरकारले वैकल्पिक ऊर्जाको माध्यमबाट भए पनि ती स्थानमा विद्युतीकरण गरिने बताउनुभयो । प्रदेश सरकार र उहाँको राजनीतिक जीवनका विभिन्न विषयमा केन्द्रित रहेर पत्रकार पाण्डव शर्माले मन्त्री चौधरीसँग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ।तपाईं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुनुभएको तीन महिना पूरा भएको छ। कस्तो अनुभूति गर्नुभएको छ ?
जनताको काम गर्न पाउँदा मलाई खुसी लागेको छ। हुन त म राजनीतिकर्मी भएकाले हिजो पनि जनताको साथमा थिएँ। अहिले पनि जनताको काम गर्नका लागि मन्त्रीको जिम्मेवारी पाएको छु। प्रत्यक्ष रूपमा जनताको भावना बुझेर उहाँहरूको समस्यालाई बुझ्ने अवसर पाएको छु। सरकारमा गएर जनताको काम गर्ने अवसर प्राप्त भयो। यो अवसर प्राप्त गर्दा मलाई गर्व अनुभव भएको छ।
म जति समय मन्त्री रहन्छु, त्यस अवधिभर इमान्दारितापूर्वक जनताको पक्षमा काम गरिरहने छु । मन्त्री पद सकिएपछि पनि निरन्तर जनताको पक्षमा काम गरिरहनेछु । म वर्गीय मान्छे नै हो । म सधैँ जनतासँग रहेर काम गर्न मन पराउँछु । म यहाँ आउने सबैलाई चित्त बुझाएर पठाएको छु । मन्त्रालयमा रहेका कर्मचारी साथीहरूसँग राम्रो सहकार्य भइरहेको छ । जनताबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छु । म सकेसम्म सबैको कुरा सुन्ने गरेको छु । यसबाट जनतासँगको मेरो सम्बन्ध अझ प्रगाढ भएको मैले अनुभव गरेको छु ।
एउटा राजनीतिकर्मी जनताको माझमा रहेर काम गर्दा र राज्यसत्ताको मन्त्री पदमा रहेर काम गर्दा के फरक पाउनुभयो ?
हामी जनताको माझमा काम गर्दा व्यवहारिक पक्ष धेरै हुन्छ। तर, मन्त्री भएपछि कानूनी कुरामा बढी ध्यान दिएर काम गर्नुपर्छ। भावनात्मक रूपमा जनताको पक्षमा धेरै काम गर्न मन लाग्छ, तर सरकारले निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्छ। यसरी काम गर्दा केही ढिलाइ हुन सक्छ। तर, यहाँ पनि हामीले गर्ने भनेको जनताको विकास र निर्माणकै काम हो।
तपाईं सानै उमेरमा राजनीतिमा लाग्नुभयो र सानै उमेरमा सांसद र मन्त्री हुनुभयो। आफ्नो जीवनलाई कसरी समीक्षा गर्नुहुन्छ?
म १३ वर्षको उमेरमा राजनीतिमा लागेँ । हाम्रो राजनीतिक पृष्ठभूमिको परिवार हो । मेरी बुढी हजुरआमा किसान आन्दोलनमा सहभागी भएर ३ दिन प्रहरीको हिरासतमा बस्नुभएको थियो । गुम्राह थारुसहित मेरी बुढी हजुरआमाले दाङमा किसान आन्दोलनमा अगुवाको भूमिका निर्वाह गर्नुभएको थियो । म पनि कक्षा ६ मा पढ्दा पढ्दै राजनीतिमा होमिएँ । परिवार छाडेर पूर्णकालीन राजनीति गर्नु कठिन काम थियो।
म सधैँ परिवर्तन र जनताको पक्षमा होमिएँ। जहाँ रहेर पनि जनताको सेवा गर्नुपर्छ भन्ने मेरो मान्यता छ । मुलुकको समृद्धि र जनताको मुक्तिका लागि बलियो कम्युनिस्ट पार्टी हुनुपर्छ भनेर मैले विगतदेखि नै त्यसको वकालत गरेँ । पार्टीको ध्रुवीकरण प्रक्रियामा म सच्चा कम्युनिस्ट पार्टीमै लाग्नुपर्छ भनेर निर्णय लिएँ । पार्टीले मलाई अवसर र जिम्मेवारी दियो । मैले यो अवसरलाई सधैँ जनताको पक्षमा लगाउने प्रतिबद्धता व्यक्त गरेको छु।
तपाईं मन्त्री भइसकेपछि के-के काम गर्नुभयो?
हामी सरकारमा सहभागी हुँदा अघिल्लो सरकारले नै बजेट ल्याइसकेको थियो । हामीले पूरानै बजेटमा रहेर काम गर्नुपर्ने परिस्थिति छ । हामीले अघिल्लो सरकारले ल्याएको बजेट र योजनाकै आधारमा काम गरिरहेका छौँ।
हाम्रो मन्त्रालयअन्तर्गत १,३४० ओटा योजना रहेका छन् । यीमध्ये केही योजनाको ठेक्का व्यवस्थापन भइसकेको छ, केहीको कार्यान्वयन भइरहेको छ, र केही ठेक्का प्रक्रियामा छन् । केही बहुवर्षीय योजनाहरू सञ्चालन भइरहेका छन् । हामीले यी कामलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ। साथै, प्रदेशका १२ वटै जिल्लामा आवश्यकता र प्राथमिकताको आधारमा आगामी दिनमा योजना पार्ने गरी जनता र सम्बन्धित सरोकारवाला पक्षहरूसँग छलफल गरिरहेका छौँ।
लुम्बिनी प्रदेशमा सिँचाइ सुविधाको अवस्था कस्तो छ?
नेपाल कृषि प्रधान मुलुक हो । कृषि क्षेत्रको विकास नगरी हामीले मुलुकको समृद्धि हासिल गर्न सक्दैनौँ । लुम्बिनी प्रदेश पनि खेतियोग्य जमिन धेरै भएको प्रदेश हो । तर, सिँचाइ सुविधा पर्याप्त नहुँदा हामीले अपेक्षा अनुसार कृषि उत्पादन बढाउन सकेका छैनौँ । त्यसैले हामी सिँचाइ सुविधालाई पहिलो प्राथमिकतामा राखेका छौँ।
सिँचाइ अन्तर्गत आवश्यकता अनुसार सतहको पानी प्रयोग गरेर सिँचाइको उचित व्यवस्थापन गर्ने र भूमिगत जलस्रोतमार्फत सिँचाइ सुविधा पुर्याउने हाम्रो योजना छ । त्यसका लागि सम्भाव्यता अध्ययन गर्ने र योजनाहरू सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ।
ऊर्जा अन्तर्गत के काम भइरहेको छ ?
प्रदेश सरकारको सीमित स्रोत साधनका कारण मेघा जलविद्युत् आयोजना हामीले अगाडि बढाउन सक्ने अवस्था छैन । तर, हामीले लघु जलविद्युत् आयोजनाहरू मार्फत स्थानीय स्तरमा विद्युतीकरणको काम गरिरहेका छौँ।
प्रदेशका पहाडी जिल्लामा लघु जलविद्युत्को सम्भावना रहेको छ। साथै, हामीले वैकल्पिक ऊर्जामार्फत टुक्की विस्थापनको योजना ल्याएका छौँ । सौर्य ऊर्जामार्फत विद्युतीकरणको काम भइरहेको छ । ग्रामीण क्षेत्रमा पोल विस्तार लगायतका काम गरिरहेका छौँ। आगामी वर्षमा थप बजेट वृद्धि गरेर ऊर्जा सम्बन्धी काम गर्ने योजना छ।
सिँचाइ र ऊर्जा क्षेत्रमा लुम्बिनी प्रदेशको सम्भावना के देखिन्छ ?
लुम्बिनी प्रदेश विविधताले भरिपूर्ण प्रदेश हो। हामीसँग पूर्वी रुकुम जस्ता हिमाली जिल्ला छन्। त्यसैगरी, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी र पाल्पा पहाडी जिल्ला रहेका छन् भने, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जस्ता समथर जिल्लाहरू पनि छन् । यी सबै जिल्लामा आफ्नै खाले सम्भावना र चुनौतिहरू रहेका छन्।
पहाडी जिल्लाहरूमा पुराना कुलाको गुणस्तर सुधार र विस्तार गर्नुपर्ने देखिन्छ । साथै, ती जिल्लामा पानीका स्रोत रहेका खोलाहरूबाट लिफ्टिङ गरेर सिँचाइ सुविधा पुर्याउनुपर्ने छ। तराईका जिल्लाहरूमा खोला तथा नदीमा पक्की ड्याम, नहर र पक्की कुला निर्माण गरेर सिँचाइ पुर्याउनुपर्ने आवश्यकता छ । कतिपय ठाउँमा डिपबोरिङ र स्यालो ट्युबवेलमार्फत सिँचाइ सुविधा पुर्याउन सकिन्छ।
अहिले केही स्थानमा योजनाहरू सञ्चालन भइरहेका छन् भने केही स्थानमा आगामी वर्षदेखि योजनाहरू सञ्चालन गर्ने छौँ । सबै खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याएर कृषि उत्पादन बढाउने हाम्रो लक्ष्य रहेको छ।
यहाँका समस्याहरू के देख्नुभयो ?
म मन्त्री भएपछि भूगोलमै गएर जनताको समस्या बुझ्ने काम गरिरहेको छु । यस बीचमा म पाल्पा, गुल्मी, रुपन्देही, पूर्वी रुकुम, रोल्पा, दाङका विभिन्न स्थानमा गएर स्थानीयहरूसँग छलफल गर्दै वस्तुस्थितिको बारेमा अध्ययन गरेँ।
हामीले आवश्यकता र प्राथमिकताको आधारमा काम गर्नुपर्ने देखिन्छ। दाङको भारतीय सीमासँग जोडिएका विभिन्न २२ ओटा नाकामा पुगेर त्यहाँको अवस्थाको बारेमा विस्तृत बुझ्ने अवसर प्राप्त भयो।
राजपुर गाउँपालिकाका वडा नं १, ६ र ७ मा पर्ने नाकाहरूमा गएर त्यहाँको समस्या बुझियो । हाम्रो मन्त्रालयअन्तर्गत त्यहाँको प्रमुख समस्या भनेको विद्युतीकरण नै हो। त्यहाँका धेरै ठाउँमा अहिलेसम्म विद्युत् पुगेको छैन।
विद्युत् नहुँदा सिँचाइ र खानेपानीमा निकै समस्या रहेको छ । हामीले त्यहाँ विद्युत् पुर्याएर सिँचाइ र खानेपानीको समस्या समाधान गर्नुपर्ने देखिन्छ । अहिले हाम्रो बस्तीहरूमा पुग्नका लागि पनि भारतीय बाटो भएर जानुपर्ने बाध्यता छ।
यसको अन्त्यका लागि हामीले अन्तरमन्त्रालय समन्वय गरेर काम गर्नुपर्ने हुन्छ। त्यहाँ सडक, शिक्षा, स्वास्थ्य र सञ्चार राम्रोसँग पुग्न सकेको छैन । प्रदेश सरकारले क्रमशः ती स्थानमा यी सुविधाहरू पुर्याउने योजना बनाएको छ।
साथै, प्रदेशका अन्य विकट तथा ग्रामीण क्षेत्रमा पनि जहाँ यी सुविधाहरू पुगेका छैनन्, ती स्थानमा क्रमशः सुविधा पुर्याउने लक्ष्य राखेका छौँ।
र, अन्तमा के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम यो जिम्मेवारी प्रदान गर्न विश्वासका साथ मलाई अवसर दिएकोमा म हाम्रो पार्टी र संसदीय दललाई विशेष धन्यवाद दिन चाहन्छु । साथै, आम जनसमुदायलाई विशेष धन्यवाद दिन चाहन्छु।
मैले यो अवसरलाई अवश्य पनि जनताको पक्षमा काम गर्न उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो टिममा रहेर काम गरिरहनुभएका सबै कर्मचारी साथीहरूलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
हामी सबै जनताको सेवामा लागेका छौँ। समृद्ध लुम्बिनी प्रदेश बनाउने अभियानमा सबैले सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। धन्यवाद।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।