रुकुमपश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा अवस्थित डिग्रे साइकुमारी मन्दिरमा आज मुख्य मेला लाग्दै छ।
कार्तिक २७ गते हरिबोधिनी एकादशी देखि नै मेला सुरु भए पनि आज पूर्णिमाको दिन मुख्य मेला लाग्दै छ। मुख्य दिन आज डिग्रे साइकुमारी मन्दिर परिसरमा भव्य मेला लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मेलामा विभिन्न स्थानीय नाच सहित चर्चित सगाल नाच समेत प्रस्तुत हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो। सगाल नाच मेला पसेपछि मेला सकिन्छ। हात हातमा लट्ठी सहित मुसिकोट नगरपालिका ७ को साँख गाउँबाट आएका स्थानीय मेला पसेपछि मेला सकिँदै जाने अध्यक्ष केसीको भनाई छ।
सुरुको दिन एकादशीमा तुलसीको विवाह सहित विशेष पूजाआजाका साथ डिग्रे मेला सुरु भएको थियो । २८ गते बुधवार द्वादशीका दिन बोका बली सहित पूजापाठ भएकामा बिहीबार पनि बली सहित पूजापाठ भएको थियो । बिहीबार त्रयोदशी र चतुर्दशी एकै दिन परेकोले दुई दिनको पूजापाठ एकै दिन भएको थियो । हरेक वर्ष ५ दिन मेला लाग्ने भए पनि यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन परेकोले यो वर्ष मेला ४ दिन मात्र परेको डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो।
यसैबिच डिग्रे मेलाको अवसरमा मुसिकोट नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा समेत दिएको छ । डिग्रे साइकुमारी मन्दिरमा कार्तिक शुक्ल पूर्णमाका दिन लाग्ने मेलाको अवसरमा आज बिदा दिइएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र विष्टले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
आज मुसिकोट नगरपालिका र पालिका अन्तर्गतका १४ वटै वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक विद्यालय, संस्थागत विद्यालयलाई स्थानीय सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले हरेक वर्ष डिग्रे मेलाको अवसरमा कार्तिक शुल्क पूर्णिमाको दिन सार्वजनिक बिदा दिँदै आएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।