राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरिसकेको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो।
उहाँका अनुसार कक्षा ११ र १२ को अङ्कन प्रणालीको परीक्षामा सहभागी भइ कुनै विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएको वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रड प्राप्त गर्न नसकेका जम्मा विद्यार्थी सङ्ख्या १४ लाख छ। हाल मौका परीक्षाका लागि आवेदन खुलाइएकोमा विद्यार्थीको सङ्ख्याको आधारमा परीक्षा सञ्चालनका लागि मिति तय हुने छ।
परीक्षक नियन्त्रक शर्माले भन्नुभयो– ‘पहिलो चरणमा हामीले १४ लाखको आवेदन फाराम मागेका छौं । १४ लाख नै आए भने व्यवस्थापन गर्न गाह्रो हुन्छ । सामान्यतया, चार, पाँच लाखसम्म हामीले व्यवस्थापन गर्न सक्छौं । चार–पाँच लाख विद्यार्थी आए भने यही माघमा परीक्षा लिने । यो भन्दा बढी आए तीन चरणमा परीक्षा लिन्छौं । पहिलो चरणमा माघमा, दोस्रो चरणमा वैशाखमा र बाँकी तेस्रो चरण मङ्सिरमा लिन्छौं। त्यो तीन चरणमा हुन्छ।’
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आगामी मङ्सिर २७ गतेभित्र आवेदन फाराम बुझाइसक्नुपर्नेछ। यसका लागि परीक्षा आवेदन शुल्क एक हजार रुपियाँ बोर्डको खातामा दाखिला गर्नुपर्नेछ। परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयंले भरेको हुनुपर्दछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।