भैरहवा । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।
स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।
नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो ।
दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ ।
फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए । फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।