देउखुरी । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार कांग्रेसका दुई र जसपाका एक मन्त्री थपेका छन् ।
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भए पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।
त्यस्तै अशोक राई नेतृत्वको जसपाबाट रूपन्देहीका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् । सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अधुरो छ ।
लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा भए पनि केन्द्रबाट लोसपालाई बनाउने दबाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको छ । लुम्बिनी प्रदेशका १२ मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालय अझै खाली छ ।
मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर र नयाँ मन्त्रीको सिफारिस मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान ८ बजे शपथग्रहणका लागि तयारी गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।